काठमाडौँ, काठमाडौँ महानगरपालिका वडा नं. १२ को आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको समाजसेवी स्वर्गीय चक्रमान डंगोलको शालिक तथा ‘चक्रमान डंगोल स्मृति पार्क’को उद्घाटन गरिएको छ।
काठमाडौँ महानगरपालिका–१२ खोल्चापाखामा आयोजित कार्यक्रममा वडा अध्यक्ष बालकृष्ण महर्जनले शालिक तथा स्मृति पार्कको संयुक्त रूपमा उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रममा नारायण परिवार क्लबका अध्यक्ष प्रचण्डमान बज्राचार्य, ज्यापु महागुथि नेपाल केन्द्रीय समितिका नायः सत्यनारायण डंगोल, ज्यापु महागुथि नेपाल महानगर समितिका नायः पञ्चनारायण महर्जन लगायत स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष महर्जनले स्वर्गीय चक्रमान डंगोललाई जिम्मेवारी बोध भएका, स्थानीय समस्या बुझेर समाधानका लागि सक्रिय रूपमा काम गर्ने व्यक्तित्वका रूपमा स्मरण गरे। उनले डंगोल आफ्नो जीवनका प्रेरणादायी व्यक्तित्वमध्ये एक रहेको उल्लेख गर्दै स्मृति पार्क र शालिकले आगामी पुस्तालाई समेत उहाँको योगदान सम्झाइरहने विश्वास व्यक्त गरे।
उद्घाटन समारोहमा वक्ताहरूले स्वर्गीय डंगोलले समाज तथा समुदायको विकासमा पुर्याएको योगदानको चर्चा गर्दै उहाँको नाममा स्थापना गरिएको शालिक र स्मृति पार्कले भावी पुस्तालाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका थिए।
समाजसेवी चक्रमान डंगोलले समाज विकास, शिक्षा तथा सामाजिक सेवामा पुर्याएको योगदानको सम्मानस्वरूप स्मृति पार्क तथा शालिक निर्माण गरिएको श्री चक्रमान डंगोल स्मृति प्रतिष्ठानले जनाएको छ।
कार्यक्रम सफल बनाउन खोल्चापाखा स्पोर्ट्स क्लब तथा श्री रुद्रविनायक संरक्षण समितिले सहकार्य गरेका थिए। आयोजकहरूले स्मृति पार्कलाई स्थानीय समुदायका लागि सामाजिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
स्थानीयवासीहरूले सार्वजनिक स्थलको संरक्षण, समाजका योगदानशील व्यक्तित्वहरूको सम्मान तथा समुदायमा ऐतिहासिक चेतनाको विकासका लागि यस्ता स्मृति संरचनाहरू महत्वपूर्ण हुने बताएका छन्।
