प्रतिपक्षी सांसदमाथि नियम ३३(४) को डण्डा उज्याउँदै सभामुख, के छ कारबाहीको व्यवस्था ?

काठमाडौं । सभामुख डिपी अर्यालले प्रतिनिधि सभाको बैठकमा अमर्यादित गतिविधि गर्नेमाथि कारबाहीको तयारी गरेका छन्।

हिजो प्रतिनिधि सभा नियमावली पारित गर्दा विपक्षी दलका सांसदहरूले वेल घेर्नेदेखि सभामुखको माइक खोस्न प्रयास गरेका थिए।

सत्तापक्ष र प्रतिपक्ष दलका सांसदबीच हात हालाहालको परिस्थिति सिर्जना भएको थियो। विपक्षीको चर्को नाराबाजी र अमर्यादित गतिविधिका बीच सभामुखले बहुमतको आधारमा नियमावली पारित भएको घोषणा गरे। सो घटनाबारे छानिबिन गर्नको लागि सभामुखले आज समिति बनाएको जानकारी गराएका छन्।

बसेको प्रतिनिधि सभाको बैठकमा हिजोको घटनाबारे छानबिन गर्नको लागि प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा समिति गठन गरेको जानकारी गराए।

प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा गठित समितिमा सङ्घीय संसद् सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेको बताए।

सात दिन भित्र सभामुख समक्ष प्रतिवेदन पेस भएपछि कारबाही हुनसक्ने बताए। उनले सदनमा अमर्यादित व्यवहार गर्नेमाथि प्रतिवेदन प्रतिनिधि सभा नियमावलीको नियम ३३ को उपनियम ४ अनुसार कारबाही हुने बताए।

सभामुखले सांसदमाथि कारबाहीको डण्डा चलाउन खोजेको नियमावलीमा भनिएको छ, ‘यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै सदस्यले बैठकमा आपत्तिजनक वा ध्वंसात्मक व्यवहार गरेको वा बैठक कक्षमा भौतिक हानी नोक्सानी पुर्‍याएको कुरा सभामुखलाई बैठक सम्पन्न भएपछि थाहा भए पनि सभामुखले त्यस्तो सदस्यलाई बढीमा पन्ध्र दिनसम्मको लागि निलम्बन गरी क्षति भएको भौतिक सामग्रीको क्षतिपूर्ति निजबाट भराउने आदेश दिन सक्नेछ।’

सो नियमावली अनुसार सभामुखले कारबाहीको आदेश दिनुभन्दा अगाडि सम्बन्धित सदस्यलाई आफ्नो सफाइ पेस गर्ने उचित मौका दिनुपर्ने उल्लेख छ।