२६ दिनमै गृहमन्त्रीबाट राजीनामा दिएका सुधन ४७ दिनमा फेरि फर्किए

काठमाडौँ- पदभार ग्रहण गरेको २६ दिनपछि राजीनामा दिएका तत्कालीन गृहमन्त्री सुधन गुरुङ मंगलबार फेरि गृहमन्त्री बन्ने भएका छन्।

वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा गरेका गुरुङले मंगलबार ४७ दिनपछि फेरि जिम्मेवारी सम्हाल्ने भएका हुन्।

उनको शपथग्रहण मंगलबार केहीबेरमा हुने तयारी छ।

विवादास्पद व्यवसायी दीपक भट्टसँग नाम जोडिएपछि गुरुङ विवादमा परेका थिए। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका भट्टको लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर खरिद गरेको विषयमा प्रश्न उठेपछि गुरुङमाथि राजीनामाको दबाब बढेको थियो।

चौतर्फी आलोचनापछि उनले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। उनी २६ दिन गृहमन्त्रीको जिम्मेवारीमा रहेका थिए।
यसबारे अनुसन्धान गर्न मन्त्रिपरिषद्को वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य थिए। गुरुङसँग सम्बन्धित सार्वजनिक रूपमा उठेका विषयको सत्यतथ्य अध्ययन तथा छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी समितिलाई दिइएको थियो। पछि समय अपुग भएपछि थप पाँच दिन म्याद थपिएको थियो।
छानबिन समितिले आफ्नो अध्ययनपछि गुरुङलाई चोख्याएको हो।
समितिले बुझाएको ४५ पृष्ठ लामो प्रतिवेदनले गुरुङको चल-अचल सबै सम्पत्तिलाई ‘वैध’ ठहर्‍याएको छ। प्रतिवेदनले सम्पत्ति विवरणमा देखिएका त्रुटिलाई व्यक्तिको नभई ‘राज्यको कमजोर प्रणाली’ को रूपमा व्याख्या गरिदिएपछि गुरुङलाई गृहमन्त्रालयको सत्तारोहण सजिलो बनेको हो।