धनगढी- कैलालीको लम्कीचुहा नगरपालिका- ३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका क्रममा ग्रेनेड विस्फोट हुँदा एक सैनिकको मृत्यु भएको छ भने अर्का सैनिक गम्भीर घाइते भएका छन् ।
ब्यारेकभित्र तालिम चलिरहेका बेला एक्कासी ग्रेनेड विस्फोट भएको सैनिक स्रोतले जनाएको छ । विस्फोटमा घाइते भएका दुवै सैनिकलाई तत्काल उपचारका लागि लम्कीस्थित लालरत्न अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा एक सैनिकको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
घाइते अर्का सैनिकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको बताइएको छ ।
घटना कसरी भयो भन्ने विषयमा नेपाली सेनाले हालसम्म औपचारिक विवरण सार्वजनिक गरेको छैन । सेनाले घटनाबारे अनुसन्धान सुरु गरेको स्रोतको भनाइ छ । मृतक र घाइते सैनिकको परिचय तथा घटनाको विस्तृत विवरण आउन बाँकी रहेकाे छ ।
मृतक सैनिकको नाम हिमाल बिक्रम बिष्ट रहेको छ भने घाइते हुनेमा सह-सेनानी हेमराज जाेशी रहेका छन्।
