भोटेकोशीमा फेरि बढ्यो बाढीको बहाव, चार जिल्लामा सतर्कता अपनाउन आग्रह

काठमाडौं, भदौ १४ । रसुवास्थित भोटेकोशी नदीमा बाढीको बहाव पुनः केही बढेको सूचना प्राप्त भएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी तटीय क्षेत्र तथा खोज, उद्धार र राहत कार्यमा खटिएका सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणले आइतबार बिहान ७ः२० बजे अद्यावधिक सूचना जारी गर्दै रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत प्रभावित क्षेत्रका नदी आसपासमा रहेका नागरिक तथा खोज, उद्धार र राहतमा खटिएका टोलीलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको हो।

भोटेकोशीमा यसअघि आएको भीषण बाढीले रसुवा हुँदै नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लाका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो। बाढीको बहाव त्रिशूली नदीतर्फ समेत बढेपछि ती जिल्लाका तटीय बस्तीमा निरन्तर निगरानी र सतर्कता अपनाइएको थियो।

यसैबीच, बाढी पूर्वानुमान महाशाखाले आइतबार बिहान ५ः४५ बजे तत्काल ठूलो बाढीको जोखिम नरहेको जनाएको थियो। रसुवा, नुवाकोट र धादिङका नदी आसपासको अवस्थालाई निरन्तर निगरानीमा राखिएको महाशाखाले स्पष्ट पारेको थियो। तर त्यसपछि भोटेकोशीको बहाव केही बढेको सूचना आएपछि विपद् प्राधिकरणले पुनः सतर्कता अपनाउन आग्रह गरेको हो।

यसअघि भोटेकोशीमा आएको बाढीका कारण नदी किनारका बस्ती, सडक, पुल तथा विभिन्न भौतिक संरचनामा ठूलो क्षति भएको थियो। बाढी त्रिशूली नदीमा मिसिएपछि यसको प्रभाव तल्लो तटीय क्षेत्रमा समेत परेको थियो।

प्राधिकरणले नदी तटीय क्षेत्रमा रहेका नागरिकसँगै खोज, उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक र सम्बन्धित निकायलाई नदीको बहावमा हुने परिवर्तनलाई गम्भीरतापूर्वक लिन आग्रह गरेको छ।

साथै, जोखिम देखिएमा तत्काल सुरक्षित स्थानतर्फ जान र आधिकारिक निकायबाट जारी हुने सूचनालाई मात्र आधार बनाउन आग्रह गरिएको छ।