काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये हालसम्म ९८७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म विभिन्न जिल्लाबाट उक्त संख्यामा शव फेला परेको हो ।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा ३२१ जनाको शव फेला परेको छ । त्यस्तै नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २७ जनाको शव फेला परेको छ ।
बाढी तथा पहिरोका कारण अझै ३ हजार ९१६ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । विपद्मा परी २७९ जना घाइते भएका छन् ।
उद्धार कार्यलाई तीव्रता दिइएको र हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।
भोटेकोशीमा आएको बाढीपछि रसुवा तथा आसपासका जिल्लामा ठूलो जनधनको क्षति भएको छ । बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य अझै जारी रहेको छ ।
रसुवाको टिमुरेस्थित भन्सार कार्यालयका अधिकृत गोरखामा मृत अवस्थामा भेटिएका छन् । रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका अधिकृत नकुल शर्माको शव गोरखामा फेला परेको हो। त्रिशूली नदीको किनार (गोरखातर्फ)शर्माको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।
भन्सार अधिकृत शर्मा हुम्ला ताजाकोट गाउँपालिका–२ का स्थानीय हुन्। पोष्टमार्टमपछि परिवारले उनको शव बुझेका छन्। गोरखातर्फ पर्ने त्रिशुली नदीको तटीय क्षेत्रमा अहिलेसम्म ६५ जनाको शव भेटिएको छ।
