रसुवा बाढीको आर्थिक प्रभाव अध्ययन गर्न उपसमिति गठन

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले रसुवामा आएको बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र जलवायु वित्तसम्बन्धी विषय अध्ययन गर्न सात सदस्यीय उपसमिति गठन गरेको छ।

समितिको आज सिंहदरबारमा बसेको बैठकले सांसद सुशील खड्काको संयोजकत्वमा उपसमिति गठन गरेको हो। उपसमितिका सदस्यमा नरेन्द्रकुमार केरुङ, परशुराम तामाङ, डा. पुष्पराज कँडेल, लिमा अधिकारी, पुष्प चौधरी र सुशान्त वैदिक रहेका छन्।

अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीका अनुसार उपसमितिले रसुवा बाढीबाट अर्थतन्त्रमा परेको प्रभावको अध्ययन तथा विश्लेषण गर्नेछ। साथै, बाढी र जलवायु परिवर्तनसँग सम्बन्धित विषय तथा जलवायु वित्तको अवस्थाबारे समेत अध्ययन गरिनेछ।

उपसमितिलाई असोज २ गतेभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको सभापति बुढाथोकीले जानकारी दिए।

बाढीबाट प्रभावित क्षेत्रको आर्थिक तथा भौतिक क्षति, पुनर्निर्माणको आवश्यकता र जलवायुजन्य विपद् व्यवस्थापनका लागि आवश्यक वित्तीय स्रोतबारे अध्ययन गरी सरकारलाई आवश्यक सुझाव दिन उपसमितिले काम गर्नेछ।