तीन नयाँ गीत सार्वजनिक, स्व. जनकवि दुर्गालाल श्रेष्ठप्रति सांगीतिक समर्पण

काठमाडौं । काठमाडौंमा हिजो आयोजित विशेष कार्यक्रमबीच तीनवटा नयाँ गीत सार्वजनिक गरिएको छ। सुन्धारास्थित सीडीसी सिनेमा हल, सीटीसी मलमा आयोजित प्रिमियर कार्यक्रममा गीतकार, संगीतकार, कलाकार, गायक–गायिका तथा संगीतप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो।

प्रस्तुतकर्ता एवं कार्यक्रमका सभाध्यक्ष बिजयरत्न तुलाधरको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल भाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दर प्रमुख विशेष अतिथिका रूपमा उपस्थित थिए। गीतकार ध्रुबरत्न तुलाधर, पेज थ्रीका सम्पादक तथा प्रकाशक दर्शन वीर शाक्य, बिजयरत्न असंबरेलगायतको उपस्थिति थियो। विशेष अतिथि मल्ल के सुन्दरले सुकुन्दा बालेर कार्यक्रमको उद्घाटन गरेका थिए भने गायिका रोशना तुलाधरले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।

कार्यक्रममा पहिलो गीत ‘मनभित्र नौलो नौलो’ सार्वजनिक गरिएको थियो। ध्रुबरत्न तुलाधरको रचना, अनिल शाहीको संगीत तथा बिरेन शाक्यको रेकर्डिङ रहेको गीतको भिडियो ब्लुबेरी स्टुडियोले निर्माण गरेको हो। गीतका रचनाकार ध्रुबरत्न तुलाधरले गीतको सिर्जना र भावनाबारे मन्तव्य राखेका थिए। गीत निर्माणमा संलग्न कलाकार सलोना बज्राचार्य, सिजन शाक्य, संगीतकार अनिल शाही, रेकर्डिस्ट बिरेन शाक्य, श्रीनगर बिन्दिरा श्रेष्ठ र सिनेमाटोग्राफर अमर चित्रकारलाई विशेष अतिथि मल्ल के सुन्दरले खादा ओढाएर सम्मान गरेका थिए।

त्यसैगरी, दोस्रो गीत ‘ए कान्छा के भन्न खोजेको’ पनि सार्वजनिक गरिएको थियो। निल शाक्यको रचना तथा संगीत रहेको उक्त गीतको रेकर्डिङ फिरोज बज्राचार्यले गरेका हुन् भने भुपेन्द्र बज्राचार्यले एरेन्ज गरेका छन्। हिमालयन रिदमका राम श्रेष्ठ, लक्ष्मण श्रेष्ठ तथा टिमले गीतको भिडियो निर्माण गरेका हुन्। कार्यक्रममा गीतकार तथा संगीतकार निल शाक्य र भिडियो निर्देशक राम श्रेष्ठले गीत निर्माण प्रक्रियाबारे मन्तव्य राखेका थिए। गीत निर्माणमा संलग्न निल शाक्य, फिरोज बज्राचार्य, भुपेन्द्र बज्राचार्य, कलाकार नरेन्द्र महर्जन, प्रिज्मा श्रेष्ठ तथा सिनेमाटोग्राफर लक्ष्मण श्रेष्ठ र निरञ्जन श्रेष्ठलाई सम्मान गरिएको थियो।

कार्यक्रमको अर्को विशेष आकर्षण स्वर्गीय जनकवि दुर्गालाल श्रेष्ठप्रति समर्पित गीत ‘प्रभु जिं थुलि हे जक फ्वने’ रहेको थियो। स्व. जनकवि दुर्गालाल श्रेष्ठको रचनामा मनराजा नकर्मीको संगीत, बिनोदकुमार भुजेलको एरेन्ज र हरि शरण सायमीको रेकर्डिङ रहेको यस गीतको भिडियो विश्वास बज्राचार्य तथा टिमले निर्माण गरेका हुन्। कार्यक्रममा संगीतकार मनराजा नकर्मी र भिडियो निर्माता विश्वास बज्राचार्यले आ–आफ्नो मन्तव्य राखेका थिए। गीतको सिर्जना र स्व. दुर्गालाल श्रेष्ठको योगदानबारे उनका सुपुत्र सुमन श्रेष्ठ तथा विशेष अतिथि मल्ल के सुन्दरले विचार व्यक्त गरेका थिए।

 

कार्यक्रममा बिजयरत्न असंबरेले शुभकामना मन्तव्य राखेका थिए भने पेज थ्रीका सम्पादक दर्शन वीर शाक्यले सार्वजनिक तीनवटै गीतबारे समालोचनात्मक मन्तव्य दिएका थिए। अन्त्यमा सभाध्यक्ष एवं प्रस्तुतकर्ता बिजयरत्न तुलाधरले धन्यवाद ज्ञापन गरेका थिए।

तीनवटै गीतमार्फत समकालीन सांगीतिक सिर्जनासँगै स्वर्गीय जनकवि दुर्गालाल श्रेष्ठको साहित्यिक तथा सांगीतिक योगदानलाई समेत स्मरण गरिएको छ।