सात प्रदेशमा आज आठ राजनीतिक दलको अन्तरक्रिया

आठ राजनीतिक दलले आज सातवटै प्रदेशका प्रदेशसभा सदस्यहरूसँग अन्तरक्रिया कार्यक्रम गर्दै छन् । फागुन २५ गते हुन लागेको राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै आठ दलका नेताहरूले प्रदेशसभा सदस्यहरूसँग अन्तरक्रिया गर्न लागेका हुन् ।

यसका लागि नेपाली कांग्रेससहित दलहरूले सबै प्रदेशमा प्रतिनिधि खटाएका छन्। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवारमा समर्थन गरेका दलहरूले प्रदेश सभा सदस्यहरूसँग राष्ट्रपति निर्वाचन र गठबन्धनबाट भावी केन्द्रीय र प्रदेश सरकार विस्तार र गठनलगायत विषयमा कुराकानी गर्न लागेका हुन्।

यसै बीच कांग्रेसले कोसी प्रदेशमा महामन्त्री विश्वप्रकाश शर्माले जिम्मेवारी पाएका छन् । कोसी प्रदेशमा महामन्त्री शर्मासहित सहमहामन्त्री भीष्मराज आङदेम्बे पनि सहभागी हुनेछन् । मधेस प्रदेशमा फरमुल्लाहा मन्सुरले जिम्मेवारी पाएका छन् । मधेसमा सहमहामन्त्री महेन्द्र यादवलगायत पार्टीका नेताहरूको सहभागिता हुने गरि खटाएका छन्।

राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल साझा उमेदवार छन् । नेकपा एमालेले सुवास नेम्वाङलाई उठाएको छ । पौडेल कांग्रेससहित नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका साझा उमेदवार हुन् ।

यही फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदै छ । निर्वाचनका संघीय संसदमा हाल कायम रहेका ३३२ र प्रदेशसभाका ५५० गरी कुल ८८२ मतदाता छन् ।