सेतो मच्छिन्द्रनाथको जात्रा सुरु

सेतो मछिन्द्रनाथको रथयात्रा सुरु भएको छ । आज बुधबार मछिन्द्र बहालदेखि सुरु भएको रथयात्रा तीनधारा पाठशाला, जमल, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म पुगेको छ । काठमाडौँ उपत्यकाका बृद्धबृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन छ । करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई आज साँझ ४ बजे जनबहालबाट तीनधारा पाठशालासम्म सेतो मच्छिन्द्रनाथको खट यात्रा सुरुभएको थियो। आज रथ असन पुर्‍याएपछि राष्ट्रपति रामचन्द्र पौडेलले त्यहाँ पुगेर दर्शक गर्ने कार्यतालिका छ।

किम्बदन्ती अनुसार परापूर्व कालमा जमल क्षेत्रको खेतमा एक जना ज्यापुले खेत खन्दा सेतो मच्छिन्द्रनाथको मूर्ति फेला पारेका थिए । उक्त मूर्तिलाई घर लगी धानको भकारीभित्र लुकाइराख्दा त्यस भकारीबाट जति धान झिक्दा पनि नसकिएपछि मूर्तिलाई अन्नदाता ठहर्याई जनबहालमा स्थापना गरिएको किम्वदन्ती छ । सोही परम्परा अनुसार हालपनि मूर्ती फेला परेकै स्थान जमलको तीनधारा पाठशालामा रथ बनाउने चलन रहिआएको छ ।

रथयात्रा भोलि बिहीबार असनबाट बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोकासम्म हुने छ । यस्तै १७ गते हनुमानढोकाबाट चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगनसम्म रथयात्रा हुनेछ । चैत १८ गते लगन आमा रुख परिक्रमा गरिने छ भने चैत्र १९ गते लगन, ज्याबहाल, द्यः लं, यूतुननी, कोहिति भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मछिन्द्रबहालसम्म रथयात्रा हुने छ ।