काठमाडौं – आउँदो वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी चुनाव चिह्न वितरण गरिंदै छ ।
निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेदेखि १ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको छ ।त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ । उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि आजै चुनाव चिह्न दिइने आयोगले जनाएको छ ।
आज उम्मेदवारले चुनाव चिह्न पाएपछि उपनिर्वाचनको प्रसारप्रसार औपचारिकरुपमा सुरु हुनेछ । आउँदो वैशाख १० गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।
गएको मङ्सिर ४ गते भएको चुनावमा तनहुँ १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति, बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले र चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएकाले ती क्षेत्रमा उपचुनाव हुन लागेको हो ।
