ओलावालेको ह्याट्रिकमा मछिन्द्रको फराकिलो जित

साविक विजेता मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फराकिलो जित निकालेको छ ।

च्यासल मैदानमा मंगलबार मछिन्द्रले एफसी खुमलटारलाई ७-३ गोलको फराकिलो जित निकालेको हो । मछिन्द्रको जितमा आफिज ओलावालेले ह्याट्रिकसहित ५ गोल गरे ।  विमल घर्ति मगर र विजय भुजेलले एक एक गोल थपे।

खुमलटारका मेसुके ओलुमोउले दुई तथा स्टेफेन बिनोङले एक गोल फर्काए । जारी लिगकै सर्वाधिक गोल भएको खेलमा ओलावालेले २५ औं मिनेटमा गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । २९ औं मिनेटमा ओलावालेले व्यक्तिगत दोस्रो गोल गर्दा मछिन्द्र २-० ले अघि रह्यो । पहिलो हाफको इन्जुरी समयमा विमलले गोल गर्दै मछिन्द्रलाई तेब्बर अग्रता दिलाए ।

५६ औं मिनेटमा ओलावालेले ह्याट्रिक पूरा गर्दा मछिन्द्र ४-० ले अघि रह्यो । नाइजेरियन स्ट्राइकर ओलावाले जारी लिगमा ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडी बने । ओलावाले ८ गोल पूरा गर्दै लिगको सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा उक्लिएका छन् ।

खेलको ६१ औं मिनेटमा मेसुकेले गोल गर्दै खुमलटारलाई ४-१ को स्थितिमा ल्याए । ६२ औं मिनेटमा ओलावालेले चौंथो गोल गर्दै मछिन्द्रलाई ५-१ को अग्रता दिलाए । खेलको ६७ औं मिनेटमा ओलावालेले व्यक्तिगत पाँचौं गोल गर्दा मछिन्द्र ६-१ ले अघि रह्यो । ७६ औं मिनेटमा स्टेफेनले गोल गर्दा खुमलटार ६-२ को स्थितिमा रह्यो ।

खेलको ८१ औं मिनेटमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारलाई ६-३ को स्थितिमा ल्याए । त्यसपछि खेलको ८७ औं मिनेटमा विजयले गोल गर्दा मछिन्द्र ७-३ ले विजयी भयो । मछिन्द्रको यो तेस्रो जित हो । मछिन्द्रले ८ खेलमा १२ अंक जोडेको छ । मछिन्द्र छैटौं स्थानमा उक्लिएको छ ।