हरिसिद्धिमा महिला उद्यमीद्वारा उत्पादित सामग्रीहरूको प्रदर्शनी तथा बिक्रि मेला

ललितपुर – ललितपुर महानगरपालिका वडा नम्बर २९ हरिसिद्धिमा महिला उद्यमीद्वारा उत्पादित सामग्रीहरूको प्रदर्शनी तथा बिक्रि मेला आयोजना गरिएको छ। वडा नम्बर २९ को आयोजनामा रूपान्तरण हस्तकला गोदावरी १४ थैवको समन्वयमा शनिबार स्थानीय महिला समूहद्वारा उत्पादित सामग्रीहरूको प्रदर्शनी तथा बिक्रि मेला आयोजना गरिएको हो।

मेलामा स्थानीय १७ वटा महिला समूहले उत्पादन गरेका विभिन्न सामग्रीहरू १७ वटा स्टलमा राखिएको थियो। सो अवसरमा महानगरपालिकाका उपप्रमुख मंजली शाक्य बज्राचार्य प्रत्येक स्टलमा पुगेर महिला उद्यमीहरूसँग जानकारी लिनु भएको थियो भने उहाँले मेला मेला मात्रै नभएर उद्यमीहरूको अनुभव, ज्ञान, सीप आदान प्रदान गर्ने थलो समेत भएको भन्दै महिला उद्यमीको उत्पादन बजारीकरण गर्न र क्षमता अभिवृद्धि गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मेलामा महिला समूहले उत्पादन गरेका सुकुल, परालको जुत्ता, मकै खोस्ताको फूल, सजावटका सामान, अचार, फिनेल, सरफ, साबुन, धुप, हार्पिक, लुगा, झोला लगायतका सामग्रीहरू राखिएका थिए भने मेलामा अवलोकनकर्ताको भीड लागेको थियो। एकदिने मेलामा करीब २ लाखको रूपैयाको कारोबार भएको आयोजकले जनाएको छ। मेलाको संयोजन महिला वडा सदस्य मनमाया महर्जनले गर्नु भएको थियो। मेलामा सहभागी महिला समूह तथा विभिन्न व्यक्तिहरूलाइ सम्मान गरिएको थियो।  

सोही अवसर पारेर हरिसिद्धिमा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा विशेषज्ञ चिकित्सकबाट उपचार सेवा पनि शुरू गरिएको छ।  पहिलेदेखि संचालनमा रहेको स्वास्थ्य केन्द्रमा अबदेखि शनिबार र मंगलबारका दिन विशेषज्ञ चिकित्सकबाट उपचार सेवा उपलब्ध हुने जानकारी दिइएको थियो। त्यस्तै मेला पछि रेडक्रस सोसाइटी हरिसिद्धि उपशाखाको आयोजनामा रक्तदान कार्यक्रम पनि गरिएको थियो।

(तस्विर तथा समाचारः जितेन्द्र महर्जन,हरिसिद्धि)