काठमाण्डौ – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २४ औँ स्थापना दिवसका अवसरमा पाँच पत्रकार तथा एक मातृभाषा सञ्चार संस्था सम्मानित भएका छन् । कोशी प्रदेशको विराटनगरमा शनिवार आयोजित कार्यक्रममा ‘फोनिज राष्ट्रिय पत्रकारिता सम्मान–२०८०’ र ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ बाट पत्रकारहरु सम्मानित भएका हुन् ।
कार्यक्रममा पाँच जना पत्रकार तथा एक मातृभाषा सञ्चार संस्थाले पनि राष्ट्रिय पत्रकारिता पुरस्कार र सम्मान पाएको थियो। कार्यक्रमका प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले ‘फोनिज राष्ट्रिय पत्रकारिता सम्मान–२०८०’ बाट सरोकार टेलिभिजनका दिलीप थापा मगर (काठमाण्डाै) र ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०८०’बाट ‘नेपालभाषा टाइम्स दैनिक’ (काठमाण्डाै) लाई नगद २५ हजार र सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ वाट स्व. किसन राई (मरणोपरान्त), देव पचभैया (पाल्पा), जीवन लामा (दोलखा) र उन्नति चौधरी (कैलाली)लाई नगद २० हजार र सम्मानपत्रले पुरस्कृत गरिएको फोनिजका अध्यक्ष गजुरधन राईले जानकारी दिनुभयो ।
फोनिजले निवर्तमान अध्यक्ष डण्ड गुरुङको संयोजकत्वमा सल्लाहकारद्वय आङदावा शेर्पा र मनोज घर्तीमगर सदस्य रहेको ‘सम्मान तथा पुरस्कार छनाैट समिति’ गठन गरेको थियो । समितिको सिफारिसमा फोनिजले एक मातृभाषा संचार संस्था र पाँच जना पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।
