ललितपुर – ललितपुरको खोकनाको ऐतिहासिक रुद्रायणीदेवीको १२ वर्षे नाच पाटनको मंगलबजार शुरु भएको छ । १२ वर्षे नाच उपत्यकाका विभिन्न क्षेत्रमा देखाउनुपर्ने परम्परा अनुसार पाटनको मंगलबजारमा रहेको भीमसेन मन्दिर अगाडिको डबलीमा हिजोदेखि नाचको प्रदर्शन सुरु भएको हो ।
हिजो बेलुकी प्रारम्भिक चरणको नाच प्रदर्शनी गरेकामा आज दिनभर विभिन्न चरणका नाच देखाइने देवी नाच गुथि अन्तर्गतको ताःद्यः गुथिका अध्यक्ष उदयकुमार डंगोलले बताउनु भयो ।
मल्लकालमा रुद्रायणीदेवीको १२ वर्षे नाच पाटनको मूलचोकमा मल्ल राजाहरुका लागि, केशव नारायण चोकमा तलेजु भवानीका लागि र भीमसेन मन्दिर अगाडिको डबलीमा सर्वसाधारणको लागि देखाउनको लागि प्रदर्शन गरिने चलनलाई यसपटक पनि निरन्तरता दिइएको उहाँले बताउनु भयो ।
यस्तै माघ २८ र २९ गते रातो मच्छिन्द्रनाथको मन्दिर रहेको तःबहालमा देखाउनका लागि तयारी भएको छ । माघ ४ गते खोकनाबाट आएका देवीनाचको टोलीलाई मच्छिन्द्रबहालमा रहेको धर्मकृर्ति विहारमा राखिएको छ ।
पाटनमा देखाउनु पर्ने सबै नाच सम्पन्न भएपछि बिदाइ गरिने ललितपुर महानगरपालिकाको उद्योग, पर्यटन तथा संस्कृति संरक्षण समितिका सदस्य एवमं वडा नम्बर ६ का वडा अध्यक्ष रुपेन्द्रराज शाक्यले बताउनु भयो ।
खोकनाको ऐतिहासिक रुद्रायणीदेवीको १२ वर्षे नाच गएको असोज शुक्ल द्वितियादेखि शुरु भएको हो ।
