पचली भैरवको खड्गसिद्धी नाच काष्ठमण्डप क्षेत्रमा प्रदर्शन गरिंदै

काठमाडौं – काठमाडौंको पचली भैरवको खड्गसिद्धी नाच आजदेखि काष्ठमण्डप क्षेत्रमा प्रदर्शन गरिंदैछ । बेलुकीदेखि काष्ठमण्डप क्षेत्रमा सुरु हुने तान्त्रिक नाच भोलि दिनभर चल्नेछ ।

नाचका गुरू भरत मालीका अनुसार तान्त्रिक हिसाबले गुरुहरुले बाजा बजाउँछन् त्यही अनुसार देवगणहरु नाच्ने गर्छन् । गणेश, बाराही, इन्द्रायणी, ब्रम्हायणी, नारायण, भैरव, सिंगिणी, व्याधिणी, श्वैत भैरवसहित १३ देवगणहरु परम्परागत बाजाका तालमा नाच्ने गर्छन् । देवगणहरुले आज भैरव नाच प्रदर्शन गर्नेछन् भने भोलि गणेश, ब्रम्हायणी, रुद्रायणी, नारायणी लगायतको नाच प्रदर्शन गरिनेछ । एक ठाउँमा नाच देखाउन देवगण नाइके बाद्यगुरुसहित ५० जनाभन्दा धेरै अनिवार्य सहभागी हुनुपर्छ ।

तत्कालीन समयमा राजा र देवताबीच खड्ग साटासाटको रुपमा लिइने यो तान्त्रिक नाच हरेक १२ वर्षमा देखाउने गरिन्छ । १२ वर्षे यो नाच बडादशैंको टीकाको दिन टेकुको पचली भैरव मन्दिरबाट सुरु भएको हो ।

यो नाच काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा देखाउने चलन छ । ललितपुरको पाटनमा यो नाच २४ वर्षपछि आउँदो माघ २६ र २७ गते प्रदर्शन गर्नको लागि तयारी भएको छ भने गएको हप्ता ४८ वर्षपछि टोखामा देखाइएको थियो ।