माइतीघरमा महावीर पुनको धर्ना: राति सडकमै बास

काठमाडौं –  राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं वैज्ञानिक महावीर पुनले आफ्नो माग पूरा नभएसम्म माइतीघरमा धर्ना नछोड्ने बताउनुभएको छ । हिजोदेखि धर्ना थालेका उहाँले माइतीघर चोकको सडकमै रात बिताउनुभएको छ ।

गएराति आफू धर्नास्थलमै सुतेको र आफूलाई १५/२० जना साथीहरुले साथ दिएको उहाँले बताउनुभयो । अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा विकास बजेटको एक प्रतिशत रकम छुट्याउनुपर्ने लगायतका आफ्नो माग पूरा नभएसम्म धर्ना कायम रहने उहाँको भनाइ छ । उहाँले अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष बनाउनुपर्ने तथा अर्थतन्त्र सुधार गरी युवा जनशक्ति विदेश पलायन हुनबाट रोक्न सरकारले सहज वातावरण सिर्जना गर्नुपर्ने माग गर्नुभएको छ ।

देशका प्रतिभाशाली विद्यार्थी तथा भावी सन्ततिका लागि आफूले आन्दोलन गर्नुपरेको उहाँले बताउनुभएको छ । आविष्कार तथा नयाँ प्रवद्र्धनको काम गर्न नसके देशको अर्थतन्त्र सुधार गर्न नसकिने र अर्थतन्त्र सुधार नभएसम्म नेपाली युवालाई विदेश पलायन हुनबाट रोक्न नसकिने उहाँको भनाइ छ । अनुसन्धान, नवप्रवर्तन र आविष्कार प्रवद्र्धन, सञ्चालन तथा खरिद ऐन बनाउन तथा विकास बजेटको कम्तीमा एक प्रतिशत यस क्षेत्रमा छुट्याउन उहाँको माग छ ।

माग पूरा गराउनको लागि सरकारलाई दबाब दिन हिजोदेखि माइतीघरमा धर्ना सुरु गरेका वैज्ञानिक महावीर पुनलाई युवाहरुले साथ दिएका छन् ।