काठमाण्डौ – ‘अशोक विनायक’ (मरु गणेश) पुस्तक विमोचन भएको छ । त्रिभुवन विश्वविद्यालय, पाटन संयुक्त क्याम्पसअन्तर्गत इतिहास तथा बौद्ध अध्ययन विभागकी प्रमुख उपप्राध्यापक डा. जुनु बासुकला रञ्जितकारले सो पुस्तक लेख्नुभएको हो ।
हिजो काठमाण्डौको विश्व सम्पदास्थल हनुमानढोकाअन्तर्गत मरु गणेशस्थानमै अशोक विनायकका पुजारी गुथिका नायः तीर्थ मान महर्जन र प्राध्यापक डा. चुन्दा बज्राचार्यले संयुक्त रूपमा विमोचन गर्नुभएको हो ।
पुस्तकमा अशोक विनायकबारे अहिलेसम्म पाइएका ऐतिहासिक दस्तावेज प्रकाशित छन् । पुस्तकको प्रकाशक अग्रज रञ्जितकार हुनुहुन्छ ।
यसअघि जुनु बासुकलाको ‘भक्तपुरको पञ्चदान पर्व’, ‘धम्मदूत’, ‘चारुमति स्तूप’ र ‘हनुमानढोका दरबारका भित्तेचित्र’ प्रकाशित भइसकेको छ । उहाँका संयुक्त लेखनमा ‘साधनमाला’ साथै चार दर्जनबढी अनुसन्धानात्मक लेखहरू प्रकाशित भइसकेका छन्। उहाँ पाटन क्याम्पसबाट प्रकाशित भइरहेको ऐतिहासिक जर्नलको सम्पादक मण्डलमा संलग्न हुनुहुन्छ ।
