पाकिस्तानले तीन घण्टा नबित्दै युद्धविराम सम्झौताको उल्लङ्घन गरेको आरोप भारतले लगाएको छ । भारतीय विदेश सचिव विक्रम मिश्रीले राति ११ बजे पत्रकार सम्मेलन गरी सो प्रतिक्रिया दिएका हुन् ।
पत्रकार सम्मेलनमा उनले भने- ‘पाकिस्तानले पछिल्ला केही घण्टादेखि युद्धविराम सम्झौताको उल्लङ्घन गरिरहेको छ। भारतीय सेनाले आक्रमणको जवाफ दिइरहेको छ र त्यसको सामना गरिरहेको छ। यो आक्रमण अत्यन्तै निन्दनीय छ । यसको लागि पाकिस्तान जिम्मेवार छ।’
भारतका सञ्चार माध्यमहरूका अनुसार युद्धविराम लागू भए पनि पाकिस्तानतर्फबाट जम्मु–कश्मीरका विभिन्न क्षेत्रमा गोलीबारी जारी रहेको छ। जम्मु–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले श्रीनगरमा विस्फोटको आवाज सुनिएको बताएका छन्।
यस विषयमा पाकिस्तानको औपचारिक प्रतिक्रिया आइसकेको छैन, तर चीनले पाकिस्तानको संयम र जिम्मेवार व्यवहारको प्रशंसा गरेको बताइएको छ।
पछिल्लो सम्झौताअनुसार, दुवै देशले स्थल, आकाश, र समुद्रमार्फत हुने सबै प्रकारका सैन्य कारबाही रोक्न सहमति जनाएका थिए।
