टी-२० ट्राइसिरिज: उपाधिका लागि निर्णायक खेलमा नेपाल र स्कटल्यान्ड भिड्दै

काठमाडौं- स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी-२० सिरिजको अन्तिम खेलमा आज घरेलु टोली स्कटल्यान्ड र नेपाल प्रतिस्पर्धा गर्दै छन्।

आजको खेलमा जित निकाल्ने टिमले सिरिज आफ्नो नाममा पार्ने छ। स्कटल्यान्डको ग्लासगोमा साँझ ७:४५ बजे सुरु हुने खेलमा दुबै टिमको ध्यान उपाधिमा हुने छ।

 

नेपाल ३ खेलमा २ मा जित र १ मा हारका साथ ४ अङ्क बनाएर अंक तालिकाको शीर्ष स्थानमा छ। स्कटल्याण्ड समान खेलमा २ मा हार र १ मा जितका साथ २ अङ्क बनाएर तेस्रो स्थानमा छ।

नेपालले यो खेल जितेमा नेपालको ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहँदै च्याम्पियन हुने छ। नेपालको भन्दा स्कटल्यान्डको रन रेट राम्रो रहेकाले आज स्कटल्यान्डले नेपाललाई हराएमा समान ४ अङ्क भएपनि स्कटल्यान्ड रनरेटमा अघि रहँदै च्याम्पियन बन्ने छ।

यसअघि यि दुइ टिमबीच भएको पहिलो खेलमा घरेलु टोलीमाथि नेपालले २ विकेटले जित निकाल्न सफल भएको थियो।

उपाधि सम्भावना अन्तिम खेल सम्म कायम राख्ने क्रममा नेपालले बिहीबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हरायो। त्यसअघिको पहिलो खेलमा भने तेस्रो सुपर ओभरमा डच टोली विजयी भएको थियो।