तनहुँ-१ मा रास्वपाका डा. स्वर्णिम वाग्ले विजयी

काठमाडौं –  तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित विजयी हुनुभएको छ।

हालै नेपाली कांग्रेस परित्याग गरी रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका वाग्लेले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ७ सय ९७ मतले हराउनु भएको हो।

वाग्लेले ३४ हजार ९ सय १९ मत ल्याउँदा भट्टराईले २० हजार १ सय २२ मत प्राप्त गर्नु भएको छ। तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत प्राप्त गर्नु भएको छ।

तनहुँ-१ मा १ लाख २३ हजार ३ सय ५ जना मतदाता छन्। आइतबार भएको उपनिर्वाचनमा ६५ हजारभन्दा बढी मत खसेको थियो।

गत मंसिर ४ को आमनिर्वाचनमा तनहुँ-१ मा कांग्रेसबाट रामचन्द्र पौडेल निर्वाचित हुनु भएको थियो। उहाँ राष्ट्रपति बनेपछि यहाँ उपनिर्वाचन गरिएको हो।