रुकुमपूर्व: शनिबार साँझ परेको अविरल वर्षाले रुकुमपूर्वको जनजीवन नराम्ररी प्रभावित पारेको छ।
भारी वर्षासँगै खसेको लेदोसहितको पहिरोले मध्यपहाडी लोकमार्गका दर्जनौँ स्थानमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
ट्राफिक प्रहरी कार्यालय रुकुमपूर्वका प्रमुख, प्रहरी सहायक निरीक्षक वीरबहादुर थापाका अनुसार धौलापहिरा, काँडाबगर, किमुबोट, सुन्तलाबारी, सैपातुङ, काँक्री र सीतालगायतका स्थानमा पहिरो झरेको छ।
त्यस्तै, मुरुका दुई स्थान र धाउन्ने सडकखण्डमा समेत पहिरो जाँदा सहायक मार्गहरू पनि बन्द भएका छन्।
सडक अवरुद्ध हुँदा आवतजावत ठप्प भएको छ भने अत्यावश्यक कामबाहेक यात्रा नगर्न प्रहरीले सर्वसाधारणलाई कडा चेतावनी दिएको छ।
भूमे गाउँपालिकाको स्काभेटर प्रयोग गरी पहिरो पन्छाउने प्रयास भइरहे पनि मौसम प्रतिकूलताका कारण काममा कठिनाइ भइरहेको छ।
यता, वर्षासँगै परेको असिनाले किसानको मिहिनेतमा पानी फेर्दै पाक्न लागेको गहुँबालीमा व्यापक क्षति पुर्याएको छ। शनिबार साँझ ६ बजेदेखि जिल्लाका अधिकांश क्षेत्रमा विद्युत् सेवा पनि अवरुद्ध भएको छ।
