सरकारले काठमाडौँ उपत्यकामा अव्यवस्थित र जोखिमपूर्ण क्षेत्रमा बसेका बस्तीहरूको व्यवस्थापनलाई तीव्रता दिएको छ । नदी किनार तथा सार्वजनिक–सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका बस्ती हटाउने अभियानअन्तर्गत विभिन्न स्थानमा चरणबद्ध रूपमा काम अघि बढाइएको हो ।
यस अभियानमा थापाथलीको बस्ती खाली गरिसकिएको छ भने गैरीगाउँ र शान्तिनगरमा प्रक्रिया जारी छ । साथै गोठाटार र मनोहरा टोलका बस्तीहरू पनि छिट्टै हटाउने तयारी गरिएको छ । सम्बन्धित निकायका अनुसार यी क्षेत्रहरूमा ठूलो संख्यामा अनधिकृत घरधुरी रहेकाले व्यवस्थापन चुनौतीपूर्ण भए पनि कार्य अघि बढाइएको छ ।
बस्ती हटाउने क्रममा सुरक्षाकर्मी र महानगरको टोलीले स्थानीयलाई सहयोग गर्दै सामान व्यवस्थापन र स्थानान्तरणमा सहजीकरण गरेका छन् । स्थानीयको सहयोगका कारण केही स्थानमा प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताइएको छ ।
सरकारले प्रभावित परिवारहरूको अस्थायी व्यवस्थापनमा पनि ध्यान दिएको छ । सम्पर्कमा आएका परिवारलाई अस्थायी रूपमा सुरक्षित स्थानमा राखेर उनीहरूको विवरण सङ्कलन गर्ने काम भइरहेको छ । त्यसपछि वास्तविक सुकुम्वासीको पहिचान गरी आवश्यक आधारमा आवासको व्यवस्था गर्ने योजना अघि सारिएको छ ।
दीर्घकालीन रूपमा भने यस्ता बस्तीहरूको समस्या समाधान गर्न व्यवस्थित बसोबास, पुनर्स्थापना र नगरीय व्यवस्थापनलाई जोड दिने रणनीति सरकारले लिएको देखिन्छ ।
