नेवा: नख: न्यूयोर्कको आयोजनामा आठौं सामुहिक ईही कार्यक्रम न्यूयोर्कमा सम्पन्न भएको छ। नेवा: गुभाजु (पुरोहित) समन्त बज्राचार्यले नेवा: विधिपूर्वक ईही सम्पन्न गराउनु भयो । उहाँलाई गुरूमा पुष्पा बज्राचार्य र नेवा: नख:का अध्यक्ष महेन्द्र बीर बज्राचार्य र निर्वतमान अध्यक्ष तथा सल्लाहाकार विष्णु मान प्रधानले जजमान (मुख्य कर्ता) भै पुजा सम्पन्न गर्न सहयोग गर्नु भएको थियो ।

न्युयोर्कको ज्याक्सनहाइटमा रहेको शेर्पा किदुगंको भवनमा शनिबार आयोजना गरिएको सामुहिक ईहीमा न्युयोर्क, फिलाडेल्फिया, कोलराडो र मिनसोटा राज्य तथा स्टेटहरूबाट गरि जम्मा ६ जना बालिकाको सहभागिता थियो । ईही गरिएका बालिकाहरू लसता बज्राचार्य, हेभेन महर्जन, रूवी मे महर्जन अवाले, शनाया डंगोल, आर्या रंजितकार र आर्जा नानी बज्राचार्यसँगै उहाँकहरूका अभिभावक, आफन्त गरि सयौं जनाको उपस्थिति थियो ।

नख:का महासचिव तुलसी नारायण चित्रकारको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा नख:का प्रथम उपाध्यक्ष्य डा. नरेश मान शाक्यले ईहीमा सहभागी बालिकाहरू, उहाँहरूका अभिभावक, आफन्त, पाहुना तथा कार्यसमितिका पदाधिकारीहरूको परिचय गराई ईहीको महत्त्वको बारेमा प्रकाश पार्नु भएको थियो ।

नख:का संस्थापक उपाध्यक्ष, निर्वतमान अध्यक्ष तथा सल्लाहकार बिष्णु मान प्रधानले नेवा: चाड-पर्व, परम्परा, रिति-रिवाज तथा कला-संस्कृतिको संरक्षण र प्रवर्द्धनका गर्नका लागि सन् २०११ मा न्युयोर्कमा यस संस्थाको स्थापना भएको जानकारी दिनु भयो । यो संस्थाले समुदायको हितका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र नेपाल र नेपाली समुदायको हितमा अन्य संघ, संस्थाको आयोजनामा हुने कार्यक्रमहरूमा सहभागी भई सहयोग गर्दै आएको कुरा पनि उहाँले बताउनु भयो।

नखःका कोषाध्यक्ष सलोनी वन्त श्रेष्ठ, सह-कोषाध्यक्ष मेनी श्रेष्ठ र सदस्य नम्रता प्रधानले कार्यक्रममा सहभागीहरूको उपस्थिति दर्ता गराउनु भएको थियो ।
कार्यक्रममा अतिथीको तर्फबाट नेवाः गुठीका संस्थापक अध्यक्ष आदित्य महर्जनले कार्यक्रमको सफलताको शुभकामना दिनुभएको थियो।कार्यक्रममा फिलाडेल्फिया देखी आउनु भएका गैर नेपाली अतिथि ग्रेगोरीले यस्ता कार्यक्रमा सहभागी हुन पाउँदाको खुशी ब्यक्त गर्दै बधाई तथा शुभकामना दिनु भएको थियो।

उक्त कार्यक्रममा नख:का अध्यक्ष महेन्द्र बीर बज्राचार्य, निर्वतमान अध्यक्ष तथा सल्लाहकार विष्णु मान प्रधान, प्रथम उपाध्यक्ष डा. नरेश मान शाक्य, महासचिव तुलसी नारायण चित्रकार, कोषाध्यक्ष सलोनी वन्त श्रेष्ठ र सचिव अनित श्रेष्ठले ईही गर्ने बालिकाहरूलाई प्रशंसा-पत्र प्रदान गरी बधाई तथा शुभकामना दिनु भएको थियो।
अध्यक्ष महेन्द्र बीर बज्राचार्यले कार्यक्रममा उपस्थित सबै बालबालिका, अभिभावक, गुभाजु, गुरुमा, अतिथि, नखःका सम्पूर्ण सदस्य तथा सहयोगी, स्वयमसेवीहरूलाई धन्यवाद व्यक्त गर्नुका साथै सहभागी बालिकाहरूलाई उज्वल भविष्यको कामना गर्दै बधाई ज्ञापन गर्नु भएको थियो । उहाँले अमेरिकामा रहेर पनि यस्तो महत्वपूर्ण संस्कार संस्थागत रूपमा गर्न गराउन पाउदा गौरवान्वित भएको भन्दै अमेरिकामा जन्मेका नेपाली बालबालिकालाई नेवाः संस्कृति, परम्परा, भाषा सिकाउदै जानु पर्ने कुरामा जोड दिनु भयो ।

नखःका द्वितीय उपाध्यक्ष श्रुति अमात्यको संयोजनमा, कोषाध्यक्ष सलोनी वन्त श्रेष्ठ, सह-कोषाध्यक्ष मेनी श्रेष्ठ, सदस्य शोभना शाक्य, नम्रता प्रधान, अनिता बज्राचार्य, लघु शाक्य, मोहिनी कर्माचार्य, उजिला प्रधान, मैना बज्राचार्य, लक्ष्मी शोभा चित्रकार र निलिमा शाक्य र सरिता श्रेष्ठ, उमा माथेमा र निगिता थापा श्रेष्ठले ईहीको पुजा सामाग्री तयारी गर्नुका साथै बालिकाहरूलाई मूलढोकाबाट लस:कुस: गरि ईही गर्ने स्थलमा भित्र्याउनु भएको थियो। साथै उहाँहरूले उपहार र सगुन सहित ईही गर्ने बालिकाहरूलाई “थाय्-भू” तयार गर्नु भएको थियो ।

संस्थाका महासचिव तुलसी नारायण चित्रकार, सचिव अनित श्रेष्ठ, र सदस्यहरू किरण रंजित, अभिषेक छोचूँ, नविन शाक्य, पुष्प श्रेष्ठ, मुनिन्द्र बज्राचार्य, जेनिश कर्माचार्य, तुलासा चित्रकार, रोहण चित्रकार, ह्यारिसन बज्राचार्य र सिद्धार्थ बज्राचार्य र सुमित श्रेष्ठले अतिथीको सत्कारसहित समयबजीको व्यवस्थापन गर्नु भएको थियो ।

न्युयोर्कमा गरिएको नेवार परम्परागत ईहीबाट अभिभावक र बालिका लाभान्वित हुनुको साथै यस्ता कार्यक्रमबाट विदेशमा रहेर पनि नेवार समुदायको मौलिक संस्कृति र परम्पराको समेत संरक्षण र प्रवर्द्धन हुने नेवा: नख: न्युयोर्कका निर्वतमान अध्यक्ष तथा सल्लाहाकार बिष्णु मान प्रधानले जानकारी दिनुभयो ।
