नेपाः पासा पुचः अमेरिकायको आयोजनामा अमेरिकाको मेरिल्याण्डमा साःपारु (गाईजात्रा) मनाइएको छ। सिल्भर स्प्रिंग शहरको ह्विटन पार्कमा शनिवार विभिन्न कार्यक्रम गरि साःपारु मनाइएको हो ।
नेपाः पासा पुचः अमेरिकायको प्रमुख उद्धेश्य अमेरिकामा नेवाः संस्कृति प्रवर्द्धन गर्नु हो। यसै अनुरूप वर्षभरिमा दिवंगत भएका आफन्तहरुको सम्झनामा काठमाण्डौंमा जस्तै बालबालिकाहरुलाई विशेष श्रीङ्गार गरि साःपारु परिक्रमा गर्ने गर्दैआएको हो ।
यस वर्षको कार्यक्रममा सायाः, घिन्तांघिसी, परम्परागत नेवाः बाजा, सांस्कृतिक प्रदर्शन, विभिन्न मनोरंजनात्मक खेलकूदका साथै स्वादिष्ट खाजा समावेश गरिएको थियो। हरेक वर्ष मनाउदै आइरहेको यस कार्यक्रममा वासिंगटन डिसी मेट्रो एरियाका नेवाः, गैर नेवाः लगायत विदेशीहरुको सहभागिता रहदैआएको छ।
कार्यक्रममा सहभागीहरुका लागि खाजाको व्यवस्था नेपाः पासा पुच अमेरिकायले निःशुल्क गरेको थियो।
