काठमाण्डाै – छठ पर्वको मुख्य दिन आइतबार सूर्यको पूजा आराधना गरिएको छ । आइतबार मधेश, काठमाडौं उपत्यका सहित देशका धेरै जिल्लामा मधेशी समुदायले जलाशयमा पुगी अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिएका छन् ।
काठमाडौं उपत्यकामा मधेशी समुदायले बागमतीमा गौरीघाट, थापाथली लगायतका स्थानमा छठघाट बनाएका छन् । त्यस्तै काठमाडौंको कमलपोखरी, ललितपुर महालक्ष्मीको बोजेपोखरी, भक्तपुरको कमलविनायकस्थित कमलपोखरीमा पनि छठघाट बनाइएको छ ।
छठका लागि नदी, खोला, पोखरीमा पूजा सामग्रीले सजाउने र पूजा गर्ने गरिन्छ । आज अस्ताउँदो सूर्यको पूजा गरेको ठाउँबाट भोली सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुनेछ ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व मनाउने गरिन्छ । यो परम्पराअनुसार अस्ति चतुर्थीदेखि छठपर्व शुरु भएको हो । यसपालि तिथिको घटबढका कारण हिजो पञ्चमी र षष्ठी तथा आज षष्ठी र सप्तमी तिथि परेको छ । तिथि घटबढ भए पनि यसवर्ष पनि पहिलेजस्तै चार दिन नै छठ पर्व मनाइने भएको हो।
छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ । छठमा बाँसका सामग्री, उखु, केरा, सुन्तला, स्याउ लगायतको बढी प्रयोग गरिन्छ ।
