भक्तपुरमा आज सम्यक महादान पर्व

भक्तपुर  – आज भक्तपुरमा सम्यक महादान पर्व हुँदैछ। प्रत्येक वर्ष माघ १ गते संक्रान्तिका दिन भक्तपुर नगरपालिका वडा नं. १ मा अवस्थित जयकीर्ति महाविहार (थथुबही) परिसर भुइख्यमा  बौद्ध परम्परा अनुसार सम्यक महादान पर्व हुने गर्दछ।

प्रत्येक वर्ष सम्यक संघ भोजनदान पर्वको सञ्चालन चतुब्र्रम्ह महाविहार अन्तरगतको तधिछे“ खल हाल सम्यक महादान व्यवस्थापन सहयोग समितिले गर्दै आएको छ । यसवर्ष पर्व सम्पन्न गर्ने पालो परेका सप्तमान बज्राचार्य लगायत उनको परिवारको परेको छ। बज्राचार्यको परिवार जयकीर्ति महाविहारमा हप्तादिन अघिदेखि नै बसी पर्वको लागि चाहिने विशेष प्रकारको पुरी, लड्डु तयार पर्ने लगायत अन्य चाजोपाजो मिलाउने कार्यमा व्यस्त रहदै आएको छ । उहाँका अनुसार यसवर्ष पर्व अवलोकन गर्ने लगायत सम्यक दान लिने बौद्ध धर्मावलम्बीहरु अघिल्लो वर्षहरुमा भन्दा बढी हुने अनुमान छ। सोही अनुसार तयारी पनि सोही अनुरुप भएको उहाँले बताउनु भयो।

सम्यक महादान व्यवस्थापन सहयोग समितिका सचिव राजुमान बज्राचार्यका अनुसार काठमाडौं उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरमा ३५० वर्ष भन्दा पहिलेदेखि बौद्ध धर्म परम्परा अनुसार सम्यक महादान पर्व निरन्तर चल्दै आएको छ । उहाँका अनुसार भगवान दिपंकर बुद्धलाई अनुसरण गर्दै काठमाडौंमा प्रत्येक १२ वर्षमा एक पटक, ललितपुरमा प्रत्येक ५ वर्षमा एक पटक र भक्तपुरमा प्रत्येक वर्ष माघ १ गते संक्रान्तिका दिनमा सम्यक महादान पव मनाउदै आएको छ ।

प्रत्येक वर्ष तधिछे “खल भित्रको परिवारमा जेष्ठताक्रमले पर्व सञ्चालन गर्ने पालो जाने र पालो पर्ने खलकले सम्यक संघ भोजन दान र गुठीसंग सम्बन्धित धेरै कार्यहरु सम्पन्न गर्नु पर्ने उहाँले बताउनु भयो। तधिछे“ खलका सम्पूर्ण परिवार सम्मिलित भई हाल सम्यक महादान व्यवस्थापन सहयोग समिति गठन गरी पर्व लगायत गुठीका गतिविधिहरु व्यवस्थित गर्दै आएको समेत उहाँको भनाई छ ।

समितिका अध्यक्ष गणेश बज्राचार्यका अनुसार चतुब्र्रम्ह महाविहार संघका कुल देवता श्री हेबज्र नैरात्मालाई सबभन्दा पहिले भोजन दान गरिने परम्परा रहेको र त्यस पश्चात् लहरै मूल दिपंकर, बाहाछे दिपंकर, झौरबही दिपंकर, थथुबही दिपंकर र कुथुबहि दिपंकरलाई भोजन चढाउने गरिन्छ ।संगै क्रमवद्ध रुपमा विराजमान गराइएका चार वटा सम्यक द्यो (सुवर्ण दिपंकरको मूर्ति), सुवर्ण चैत्य, स्थवीर आजु, मुल गुरुजु, गुरुजूहरु त्यस संगै लामवद्ध भएर बसेका सयौं बज्रँचार्य, बुद्धाचार्य र शाक्य परिवारका सदस्यहरुलाई सम्यक दान दिने परम्परा रहदै आएको छ।

भक्तपुर दरवार क्षेत्रसंगै रहेको प्रसिद्ध चतुब्र्रम्ह महाविहारका संघ सदस्य जयरत्न बज्राचार्यले नेपाल सम्वत् ७८७ मा आफ्ना दिवंगत पिता जयदेव बज्राचार्यको नाममा दिपंकर बुद्ध लगायत विभिन्न विहारका संघ सदस्यहरुलाई निमन्त्रणा गरेर सम्यक भोजनदान गरी यस पर्वको स्थापना गरेको प्रमाणित इतिहास  पाइन्छ । उक्त समयमा जयकीर्ति महाविहार अत्यन्तै जिर्ण अवस्थामा रहेको हुँदा जयरत्न बज्राचार्यबाटै नेपाल सम्वत ७९४ मा उक्त विहारको जिर्णोद्वार गरी सोही वर्ष राजा जय जितामित्र मल्लको उपस्थितिमा सम्यक महादान भव्य रुपमा सम्पन्न गरेको इतिहास पाइन्छ ।