काठमाडौं – काठमाडौंको पचली भैरवको खड्गसिद्धी नाच लगनमा शुरू भएको छ । हिजो बेलुकीदेखि लगनमा सुरु भएको तान्त्रिक नाच आज दिनभर चल्नेछ । लगनमा १२ वर्षपछि यो नाच देखाइएको हो ।
ऐतिहासिक पहिचान बोकेको पचली भैरवको १२ वर्षे खड्ग सिद्धी नाच यसअघि २०६८ सालमा देखाइएको थियो ।
नाचका गुरू भरत मालीका अनुसार तान्त्रिक हिसाबले गुरुहरुले बाजा बजाउँछन् त्यही अनुसार देवगणहरु नाच्ने गर्छन् । देवगणहरुले हिजो शुक्रबार भैरव नाच प्रदर्शन गरेका थिए । मालीका अनुसार आज गणेश, ब्रम्हायणी, रुद्रायणी, नारायणी लगायतको नाच प्रदर्शन गरिनेछ । गणेश, बाराही, इन्द्रायणी, ब्रम्हायणी, नारायण, भैरव, सिंगिणी, व्याधिणी, श्वैत भैरवसहित १३ देवगण संग्लन यो नाच परम्परागत बाजाका तालमा नाचिन्छ ।
एक ठाउँमा नाच देखाउन देवगण नाइके बाद्यगुरुसहित ५० जनाभन्दा धेरै अनिवार्य सहभागी हुनुपर्छ । यो नाच काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा देखाउने चलन छ ।
तत्कालीन समयमा राजा र देवताबीच खड्ग साटासाटको रुपमा लिइने यो तान्त्रिक नाच हरेक १२ वर्षमा देखाउने गरिन्छ । १२ वर्षे यो नाच बडादशैंको टीकाको दिन टेकुको पचली भैरव मन्दिरबाट सुरु भएको हो ।
