काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गत नेपालले नामिबियासँग हार ब्यहोरेको छ । बुधबार कीर्तिपुर मैदानमा नेपालले नामिबियासँग २ विकेटको हार ब्यहोरेको हो ।
नेपालले प्रस्तुत गरेको १ सय ६९ रनको लक्ष्य नामिबियाले ८ विकेट गुमाएर पुरा गर्यो । पहिले ब्याटिङ गरेको नेपाल ३७ दशमलव १ ओभरमा १ सय ६८ रनमा अलआउट भएको थियो ।
आसिफ शेखले ५८ रन बनाएको इनिङ्समा कुशल मल्लले ३६ र भिम सार्कीले २६ रनको योगदान गरेका थिए । नेपालका तीन ब्याट्सम्यान शुन्य रनमा पोविलियन फर्किए ।
अनिल साह, देव खनाल र कप्तान रोहित पौडेल शुन्य रनमा आउट भए । ओपनर कुशल भुर्तेलले १८ रन बनाए । करन केसी १२, दिपेन्द्र सिंह ऐरी ६ र सोमपाल कामी ४ रनमा आउट भए ।
बर्नार्ड शोल्ट्ज र जान निकोल लोफ्टी इटनले समान ३ विकेट लिएका थिए । ज्याक ब्रासेल र गरहार्ड इरास्मसले समान एक एक विकेट हात पारे । लिग टूको पहिलो खेलमा नामिबियाले नेपाललाई ४ विकेटले हराएको थियो ।
