काठमाण्डौं – साँखुमा रहेको नेपाल शिरोमणी बज्रयोगिनी माईको जात्रा भोली बिहिबारबाट सुरु हुँदैछ। हुनतः चैत्र १५ गते अष्टमीका दिन बज्रयोगिनी माईलाई निमन्त्रणा दिने पूजा भए लगत्तै जात्रा सुरु भएको मानिन्छ । तर पनि भोली पूर्णिमाका दिन भने बज्रयोगिनी माता, चैत्य भराड, सिंहिणी, व्याघ्रिनी लगायतका देवी देवताहरु रथमा सवार गराई बज्रयोगिनीबाट साँखु बजार ल्याएर जात्रा गरिन्छ।
नेवार परम्परा अनुसार निमन्त्रणा पुजाका दिनदेखि साँखु बजारमा छालाको जुत्ता निषेध गरिन्छ भने पानी पर्दा समेत छाता ओढ्न नपाईने, घोडा हात्ति चढ्न नपाईने, घर भत्काउन नपाईने नयाँ बनाउन नपाईने, छतमा चढेर काम गर्न नपाईने जस्ता नियमहरु लागु हुन्छन् । साथै झै–झगडा गर्न नपाईने, साहुले ऋणीलाई समात्न नपाईने यी र यस्ता नियमहरु नायखिं च्वयेकेगु अर्थात् उर्दी लाउने गरिन्छ ।
यस वर्ष बज्रयोगिनी माईको बासस्थानको लागि सुनटोलमा पालो परेको छ । पूर्णिमादेखि सुरु हुने जात्रामा प्रतिपदाको दिनलाई शून्यका भनिन्छ भने द्वित्तियाको दिनलाई नखः र तृतियाको दिन साँखु बजारमा बज्रयोगिनी माई चैत्य भराड, सिंहिणी, व्याघ्रिनी लगायत बसुन्धरा माताको समेत नगर परिक्रमा गराईन्छ । चतुर्थीको दिनलाई मू–भुज्या भनिन्छ भने पञ्चमीको दिनलाई धुँभूज्या र षष्ठीको दिनलाई बौविज्या भनिन्छ । सप्तमीको दिन लाई थहाँ विज्याः भनिन्छ । यस दिन बज्रयोगिनी माईलाई बज्रयोगिनी फर्काउनको लागि विशेष होम गरि साँखुमा पूजा आजा सकिएपछिमात्रै देवी देवताहरु रथमा सवार गराईन्छ। राति रथमा राखिने भएकोले एक आधा घण्टा जात्रा गरि सकिन्छ । भोलिपल्ट अष्टमीको दिन भने साँखुबाट देवी देवताहरुको रथ बज्रयोगिनी पुर्याएर जात्रा समापन गरिन्छ । त्यसपछि पनि नेवार समुदायले दशमी र एकादशीको दिन राजा रानीको तर्फबाट विचाः पूजा भनि बज्रयोगिनी माई लगायत सम्पूर्ण देवी देवताहरुको पूजा आजा गरि वनभोज खानजाने चलन छ । यसरी पूजा गर्न जाने कामलाई नेवार समुदायले विचाः पूजा भन्दछन् ।
बज्रयोगिनी जात्राकोलागि मल्लकालमा राजा आफै सवारी हुने प्रचलन रहेतापनि अन्तिम मल्ल राजा जयप्रकाश मल्ल युद्धको स्थितिमा भएको हुँदा उहाँले खड्गलाई नै आफ्नो प्रतिनिधित्व मान्नु भनेर पठाएपछि अहिलेसम्म राज खड्ग ल्याउने परम्परा कायमै छ ।
बज्रयोगिनी माईको जात्रालाई साँखुको मात्रै हैन उपत्यकाकै विशेष जात्राको रुपमा लिईन्छ। रथ ठूला ठूला हुने र देवी देवता पनि खुल्ला रुपमा राखिने हुँदा अन्य सहरहरुमा हुने जात्राको तुलनामा देवी देवताहरुको मूर्ति भव्य देखिने भएकोले जात्राको रौनक नै छुट्टै हुन्छ । बज्रयोगिनी जात्रामा साँखु वरपरका बासिन्दा मात्रै हैन विभिन्न उपत्यका र उपत्यका बाहिरका श्रद्धालु दर्शनार्थीहरुको भीड लाग्ने गर्दछ ।
