भक्तपुर – तान्त्रिक विधिबाट आठ रात, नौ दिन मनाइने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्व रहेको बिस्काः जात्रा शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढङ्गले मनाउने सन्देश प्रवाह गर्दै आज भक्तपुरमा सद्भाव र्याली आयोजना गरिएको छ।
भक्तपुरमा भोलि चैत २७ गतेदेखि सुरु हुने बिस्काः जात्रालाई ढुङ्गा हानाहान नगरी शान्तिपूर्ण रुपमा भव्यसँग मनाउने सन्देश प्रवाह गर्दै आज दत्तात्रय इनाय टोल र दूधपाटीबाट एकैसाथ सुरु भएको र्याली पाँचतले मन्दिर प्राङ्गण तौमढीमा पुगेर सभामा परिणत भएको थियो ।
सद्भाव सभामा सांसद सुवालले विश्व प्रसिद्ध यो जात्रालाई विकृतिरहित ढङ्गले शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आह्वान गर्दै जात्रालाई भड्किलो नबनाई मितव्ययिता बनाउन आग्रह गरे।
भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले बिस्काः जात्रा भक्तपुरको गौरव बोकेको जात्रा भएको बताउँदै जात्राबारे सबैलाई जानकारी दिन स्थानीय पाठ्यक्रम निर्माण गरी भक्तपुरका ९२ वटै विद्यालयहरुमा यसको पढाइ भएको बताए ।
कार्यक्रममा भक्तपुरका प्रजिअ रिजालले बिस्काः जात्रा भक्तपुरवासी र नेपालकै पहिचान र गौरव बोकेको जात्राका रुपमा रहेकाले यसलाई शान्तिपूर्ण बनाउन सबैले हातेमालो गर्नु आवश्यक रहेको बताए । उनले जात्रामा हुने अवाञ्छित र उच्छृङ्खखल गतिविधिमाथि सिसी क्यामेराबाट निगरानी गरी कारबाही गरिने स्पष्ट पारे । गुठी संस्थान भक्तपुरका प्रमुख खिमा वलीले जात्राको आवश्यक तयारी सबै पूरा गरेको बताए।
