काठमाडौं । राष्ट्रिय पर्व येंया (इन्द्रजात्रा) को शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन र जात्रा व्यवस्थित रूपमा सम्पन्न गर्ने विषयमा विभिन्न गुठी, सामाजिक संस्था तथा प्रहरी निकायबीच छलफल गरिएको छ।
प्रहरी वृत्त जनसेवा, जनसेवा सामुदायिक केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्र महाकालस्थान र इन्द्रजात्रा व्यवस्थापन समितिको संयुक्त आयोजनामा आइतबार काठमाडौं महानगरपालिका–२४ स्थित हनुमानढोका दरबारको दाख चोकमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा काठमाडौं महानगरपालिकाको भित्री सहरका माथिल्लो तथा तल्लो टोलअन्तर्गतका २९ वटा गुठी, सामाजिक संस्था तथा प्रहरी निकायका प्रतिनिधिबीच इन्द्रजात्रा व्यवस्थापन, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापनका विषयमा छलफल भएको थियो।
इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यको सभापतित्व तथा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा प्रहरी वृत्त जनसेवाका प्रमुख प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर थापाले स्वागत मन्तव्य राखेका थिए। त्यसैगरी २३ वडाका अध्यक्ष मचाराजा महर्जन, बाह्य जात्रा व्यवस्थापनसम्बन्धी गणपती लाल श्रेष्ठ, विष्णुराज जोशी, पूर्वकाठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनीलजंग शाह, जनसेवा सामुदायिक केन्द्रका अध्यक्ष पवित्र बज्राचार्य, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख दिलीप घिमिरे तथा इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले मन्तव्य राखेका थिए।
कार्यक्रममा स्थानीय स्काउट काठमाडौं महानगरका प्रमुख आयुक्त रञ्जनलाल श्रेष्ठ, सशस्त्र प्रहरी बल बाघभैरव गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक रामकृष्ण महर्जन तथा जिल्ला प्रहरी परिसर काठमाडौंका अपरेसन कमान्डर प्रहरी नायब उपरीक्षक **कौशलकुमार बुढाथोकी**लगायतको उपस्थिति थियो।
छलफलमा जात्राका क्रममा शान्ति सुरक्षा कायम गर्ने, ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा विभिन्न गुठी, सामाजिक संस्था र सुरक्षा निकायबीच समन्वय गरी इन्द्रजात्रा व्यवस्थित रूपमा सम्पन्न गर्ने विषयमा विचारविमर्श गरिएको थियो।
