काठमाडौंको ऐतिहासिक इन्द्रजात्रालाई यस वर्ष व्यवस्थित, संयमित तथा मर्यादित रूपमा सञ्चालन गर्ने उद्देश्यले बाजागाजाको सहभागिता सीमित गर्ने निर्णय गरिएको छ।
इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम साहको अध्यक्षतामा आज बसेको बैठकमा सम्बन्धित बाजा समूहका प्रतिनिधिहरूलाई बोलाई इन्द्रजात्राका क्रममा बाजागाजाको व्यवस्थापन तथा परिचालनबारे छलफल गरिएको थियो।
बैठकले यस वर्ष इन्द्रजात्रामा धेरै बाजा एकै स्थानमा जम्मा भएर बजाउने भन्दा पनि दुई वटा धिमे र एउटा भुस्या मात्र परिचालन गर्ने निर्णय गरेको हो। बैठकमा बाजागाजाका व्यवस्थापन संयोजक पन्च नारायण महर्जनले यो वर्ष सुवा गढीमा भएको विपद्लाई समेत ध्यानमा राख्दै
संयमित भएर बाजा संचालन गर्न अनुरोध गरेका थिए।
हालै रसुवा गढीमा भएको विपद्लाई समेत ध्यानमा राख्दै यस वर्षको इन्द्रजात्रालाई संयमित र सुव्यवस्थित रूपमा मनाउने उद्देश्यले बाजाको सहभागिता तथा परिचालनलाई सीमित गर्ने निर्णय गरिएको बताइएको छ।
बैठकमा सहभागी सम्बन्धित बाजा समूहका प्रतिनिधिहरूले पनि उक्त निर्णयलाई कार्यान्वयन गर्न सहमति जनाएका छन्।
