वायु प्रदूषण धेरै भएका विश्वका सहरहरूको सूचीमा काठमाडौं पहिलो नम्बरमा आएको छ । संसारभरिका सहरको वायु प्रदूषणको मात्रा नाप्ने आईक्युएयरका अनुसार आज सबैभन्दा धेरै वायु प्रदूषण भएको सहरमा काठमाडौं एक नम्बरमा पुगेको हो ।
काठमाडौंको एयर क्वालिटी इन्डेक्स २०८ छ भने दोस्रो स्थानमा थाइल्यान्डको चियाङ माई सहर छ। उक्त सहरको एयर क्वालिटी इन्डेक्स १८३ छ । वातावरण विभागको तथ्यांकअनुसार आज सबैभन्दा धेरै शंखपार्क क्षेत्र, भैंसेपाटी, खुमलटार, रत्नपार्क, कीर्तिपुरमा बढी वायु प्रदूषण रहेको छ ।
वातावरण विभागले वायु प्रदूषणको नकारात्मक असरबाट जोगिन सार्वजनिक अपिल नै गरेको छ । विभागका प्रवक्ता शंकर प्रसाद पौडेलका अनुसार वायु प्रदूषण विभिन्न कारणले हुन्छ । अहिलेको प्रदूषण मुख्य रुपमा वन डढेलोको कारणले बढेको उहाँको भनाई छ।
वातावरण विभागले यसअघि नै देशका विभिन्न स्थानमा लागेको डढेलोका कारण वायु प्रदूषण ह्वात्तै बढेकाले सचेतता अपनाउन भनेको थियो । गर्मी सुरु भएसँगै वनमा डढेलो लाग्ने क्रम पनि बढेको छ । डढेलोबाट चुरे क्षेत्रका वन बढी प्रभावित भएका छन् ।
वन तथा भू–संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीको तथ्यांक अनुसार देशभर अहिले २ सय ४१ स्थानका वनमा डढेलो लागेको छ । नेपाल सरकारका डढेलो नियन्त्रण गर्ने निकायहरूले डढेलो लाग्न नदिन आवश्यक कदम चाल्नुपर्नेमा वातावरण विभागले अनुरोध गरेको छ ।
दूषित हावाका कारण आज देशैभर हवाई उडान पनि प्रभावित बनेको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज कम भिजिबिलिटीका कारण आन्तरिक विमानस्थलहरूको उडान प्रभावित बनेको हो । यता मौसमविद्ले नेपालमा तत्काल ठुलो पानी पर्ने सम्भावना नभएकाले वायु प्रदूषण केही दिन कायम रहने अनुमान गरेका छन् । मौसमविद्का अनुसार वायु प्रदूषण हट्न ठुलो पानी पर्नुपर्छ वा बेस्सरी हावा चल्नुपर्छ ।
वर्षाका गतिविधि कम र डढेलोका घटना बढी भएकाले वायु प्रदूषणमा वृद्धि भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् सजिना शाक्यले काठमाडौं उपत्यकामा केही दिन पानी पर्ने सम्भावना नभएको बताउनुहुन्छ ।
काठमाडौं प्रदूषित शहरको सूचीमा बढेर पहिलो नम्बरमा पुगेको छ । एक्युआई १५० भन्दा माथि भएमा अस्वस्थकर मानिन्छ । एक्युआई ३०० भन्दा बढी हुनु निकै घातक हुन्छ र यो अवस्थामा विपद् घोषणा गरिनुपर्छ । वायु प्रदूषणको सबैभन्दा ठुलो असर फोक्सोमा पर्ने विशेषज्ञले बताएका छन् ।
वायुमा हुने दूषित कण श्वासप्रश्वासमार्फत सुरुमा फोक्सोमा पुग्ने भएकोले यसमा बढी असर देखिने डाक्टर शेर बहादुर पुन बताउनुहुन्छ । उहाँले सम्बन्धित निकायले कतिखेर कुन समयमा प्रदूषण उच्च हुन्छ भन्नेबारे जनचेतना जगाउनुपर्ने र प्रदूषण बढेका वेला सकेसम्म बाहिर कम हिँड्ने र हिँड्नै परे मास्क लगाउन सुझाव दिनुहुन्छ ।
अहिले काठमाडौंको हावामा विषाक्त ग्यासको मात्रा उच्च छ । वायु प्रदूषणले नै स्ट्रोक र हृदयाघातको समेत सम्भावना हुने हुँदा सजग रहन विशेषज्ञले सुझाव दिएका छन् । त्यसैले प्रदूषण फैलिएको ठाउँमा बाहिर निस्कँदा सावधानी अपनाएर मास्क लगाएर हिँड्ने गरौं । वनमा डढेलो लाग्न नदिऔं। र डढेलो लागिहाले तुरुन्तै सम्बन्धित निकायलाई सम्पर्क गरी नियन्त्रण गरौं।
