जयबागेश्वरीमा त्रिशूल जात्रा मनाइयो

काठमाडौं – काठमाडौंको जयबागेश्वरीमा त्रिशूल जात्रा आज मनाइएको छ । राक्षसहरुको कुकर्म अन्त्य गरिएको सम्झनामा यो जात्रा मनाउन सुरु गरिएको हो। हरेक वर्ष भलभल अष्टमीका दिन जयबागेश्वरीमा त्रिशुल जात्रा मनाइन्छ। 

त्रिशूल जात्रा धेरै वर्ष अघिदेखि चलिआएको चलन हो । धार्मिक मान्यताअनुसार धेरै समय पहिले तान्त्रिक विद्यामा निपुण रहेका बन्धुदत्त आचाजु नाम गरेका एक गुरु थिए। देवीदवतालाई समेत वशमा राख्न सक्ने आचाजुको पालामा नागर्जुन जंगल (जामाचो) मा रहेको एक राक्षसले  ग्वल: देशमा रहेका बालबालिकाहरुलाई चोरेर त्रासपूर्ण वातावरण सिर्जना गरेको थियो। 
यो कुरा राजा कहाँ सम्म पुग्यो र राजाले आचाजुलाई बोलाएर राक्षसलाई वशमा लिने योजना बनाउन भने। आचाजुको निर्देशन अनुसार ग्वल: देशमा लक्ष्मण रेखा बनाइयो र राक्षस बस्ने जामाचोबाट उनीहरुकै बच्चाहरु अपहरण गरेर त्यहाँ ल्याइयो। 

त्यसपछि जामाचोबाट सिधै देखिने सिफल डाँडामा लगेर उनीहरुको बच्चालाई त्रिशुलले घोचेको जस्तै गरेर राक्षसलाई तर्साइयो। आफ्नै बच्चाहरुलाई त्रिशुलले घोचेको देखेपछि राक्षसले त्यसपछि ग्वल: देशको बच्चाहरुलाई अपहरण गर्न छोडेको मान्यता छ।

जयबागेश्वरीबाट सुरु हुने खट जात्रामा दायाँ बायाँ दुई कन्या केटीहरु राखिन्छ भने बीचमा कन्या केटा राख्ने गरिन्छ।  
तस्विरः जलद बैद्य