वरिष्ठ कलाकार गणेश साय्‌मि जनस्तरबाट अभिनन्दित

काठमाडौँ –वरिष्ठ कलाकार गणेश साय्‌मिलाई जनस्तरबाट अभिनन्दन गरिएको छ।  नेपालभाषाका विभिन्न  संघसंस्थामा आवद्ध भएर सामाजिक क्षेत्रमा दिनु भएको उहाँको अतुलनीय योगदानको उच्च मूल्याकंन गर्दै   कलाकार राजेन्द्र शाक्यको संयोजकत्वमा गठीत ५५ सदस्यीय समितिले शनिबार बिहान आयोजना गरेको कार्यक्रममा  कलाकार  साय्‌मिलाई अभिनन्दन गरेको हो ।

कार्यक्रममा उहाँलाई जनकवि दुर्गालाल श्रेष्ठले अभिनन्दनपत्रसहित दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो भने समितिले एक लाख ७५ हजार रूपैयाँको नगद राशी पनि प्रदान गरेको थियो। 

नेपालभाषा एकेडेमीका उपकुलपति मल्ल के सुन्दर, समितिका अध्यक्ष राजेन्द्रमान शाक्य,  हांस्य सम्राट  मदनकृष्ण श्रेष्ठ, वरिष्ठ संगीतकार अमर राज शर्मा राजोपाध्याय् , वडा नम्बर १७ का वडा अध्यक्ष नवीन मानन्धर, वरिष्ठ पत्रकार सु्रेश किरण मानन्धर लगायतले कलाकार साय्‌मिको व्यक्तित्व र योगदानको बारेमा चर्चा गर्नु भएको थियो।

कलाकार सायमिले  आफ्नो मन्तव्य राख्ने क्रममा आफूले अन्त्यन्तै गाैरन्वातित महशुुस गरेको धारणा राख्नु भएको थियो। कार्यक्रममा नेपालभाषा क्षेत्रका विभिन्न संघसस्थाहरूले पनि उहाँलाई  सम्मानपत्रसहित सम्मान गरेको थियो भने  लोककवि राजभाइ जकःमिले कलाकार सायमिको बारेमा लेख्नु भएको कविता वाचन गर्नु भएको थियो। कार्यक्रममा वरिष्ठ गायक भृगुराम श्रेष्ठ, उद्योगपति नारायणदास मानन्धर, डा चुन्दा बज्राचार्य, समितिका सदस्यहरू लगायतका व्यक्तित्वहरूको उपस्थिति थियो। 

वि.सं. २०२२ सालमा भएको भाषा आन्दोलनमा सक्रिय रहेका गणेश साय्‌मिले थुप्रै डबली नाटक तथा प्रहसनहरु निर्देशन गर्नुभएको छ भने २०३३ सालमा हास्य सम्राट मदन कृष्ण श्रेष्ठ, रामशेखर नकर्मी, श्रीकृष्ण अणुहरु सम्मिलित रहेको ’मुना सः’ नामक कलाकारहरुको संस्थामा आवद्ध भएर निर्दलीय पञ्चायती व्यवस्था विरुद्धको राजनीतिक चेतना जागृत गर्ने, प्रजातन्त्रको पक्षमा आवाज उठाएर मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्नसक्ने क्षमतावान कलाकारको रुपमा आफुलाई उभ्याउनु भएको छ । उहाँ नेपालभाषा मंका खलः का संस्थापक कोषाध्यक्ष पनि हुनुहुन्छ ।