ललितपुर – ललितपुरमा पुरूषोत्तम महिनाको अवधिभर श्री पुरूषोत्तम महात्म्य कथावाचन तथा भजनकीर्तन कार्यक्रम हुने भएको छ। जोशी समाज केन्द्रीय कार्यसमितिको आयोजनामा श्रावण २ गते देखि ३१ गतेसम्म हरेक दिन दिउँसो ३ बजेदेखि ५ बजेसम्म श्री पुरूषोत्तम महात्म्य कथावाचन तथा भजनकीर्तन कार्यक्रमको हुन लागेको हो।
कार्यक्रम महामृत्युञ्जयघाट, शंखमूलघाटमा रहेको जोशी समाजको भवनमा हुने समाजले जनाएको छ। यसको तयारीस्वरूप गएको शनिबार समाजले सरसफाइ कार्यक्रम गरेको थियो।
हरेक तीनवर्षमा पर्ने पुरूषोत्तम महिना यसपाली श्रावण २ गतेदेखि ३१ गतेसम्म हुन लागेको छ।
पुरूषोत्तम महिना भनेको के हो?
सूर्यको गति अनुसार गणना गरिने मासलाई सौर्य मास र चन्द्रमाको गति अनुसार गणना गरिने मासलाई चन्द्रमास भनिन्छ। सामान्य रूपमा तिथिहरू चन्द्रमास र गतेहरु सौर्यमास भनेर बुझ्न सकिन्छ । सौर्यमास : संक्रान्ति देखि मसान्तसम्म , २९ दिनदेखि ३२ दिनसम्म एक महिना हुन्छ भने चन्द्रमास : एक पूर्णिमादेखि अर्को पूर्णिमासम्म २९ दिन १२ घण्टा ४४ मिनेट र २४ सेकेन्डको हुन्छ ।
यसै प्रक्रिया अनुसार गणित गर्दै जांदा सौर्यमासको एक वर्षमा जम्मा ३६५ दिन हुछ भने, चन्द्रमासको ३५४ दिन मात्र हुन्छ । यसै क्रमले हरेक वर्षको ११ दिनको फरकलाई जोड्दै जाँदा तीन वर्षमा ३३ दिनले सौर्यमास र चन्द्रमासमा फरक पर्दछ। स्पस्ट रूपमा अधिकमास हरेक ३२ महिना १६ दिन १ घण्टा ३६ मिनेटपछि आउँछ ।
यसै सौर्यमास र चन्द्रमास तीन वर्षमा मिलाप हुने हुँदा यस अवधिलाई अधिकमास भनिएको हो । अधिकमासलाई मलमास पनि भनिन्छ।
पुरूषोत्तम महिनामा के गरिन्छ?
पुरुषोत्तम महिनामा विशेष गरी पुरुषोत्तम मास माहत्म्यको पाठ र ब्रत गरिन्छ । यसरी श्रद्धा, भक्तिले, पुरुषोत्तम मासको ब्रत, दान, स्नान आदि गर्नाले व्याख्या गर्न नसकिने फल प्राप्त हुन्छ ।
यो महिना श्रीकृष्ण भगवान्को अत्यन्त प्यारो महिना भएकाले र पुरुषोत्तम नामले मात्र पनि पुरुषोत्तम भगवानलाई सम्झाउने महिना भएकाले पुरुषोत्तम भगवानको पूजा निष्काम, श्रद्धा र भक्तिभावका साथ गर्यो भने मनले चिताएको सम्पूर्ण इच्छाहरु पूर्ण हुनुका साथै पुरुषोत्तम मासमा गरिएको पुण्य अरुबेला गरिने ब्रत स्नान, पूजा आदि पुण्यको फलभन्दा करोडौँ गुणा अधिक फल मिल्ने गर्दछ ।
अधिकमासमा सम्पूर्ण शुभ कार्य तथा शुभ साईतहरू गर्न वर्जित गरिएको छ । तर नित्य पुजा पाठ गर्नलाई कुनै नियमहरूको वर्जित गरेको छैन।
