काठमाण्डाैं – वर्ल्ड नेवाः अंगनाइजेशन (डब्ल्यूएनओ) ले दोश्रो संस्करणको विश्व नेपालभाषा हाजिरी जवाफ प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ। सार्वजनिक भएको तालिका अनुसार प्रतियोगिता आउँदो शनिबार भदाै ९ गतेदेखि शुरू हुनेछ।
तालिकाअनुसार भदाै ९ गतेदेखि असोज ६ गतेसम्म प्रतियोगिताअन्तर्गत पहिलो चरणको स्पर्धा हुनेछ भने पहिलोचरणको स्पर्धाका विजेता र उपविजेता टीमहरू दोश्रो चरणको स्पर्धामा प्रवेश गर्नेछन् ।
दोश्रो चरणका स्पर्धाहरू असोज १३ देेखि कार्तिक ४ गतेसम्म हुनेछ। त्यस्तै दोश्रो चरणको प्रतियोगिताका विजेता र उपविजेता टीम तेश्रो चरणमा जानेछन् भने तेश्रो चरणको स्पर्धा कार्तिक ११ र १८ गते हुनेछ। तेश्रो चरणको स्पर्धाका विजेता र उपविजेता टीमविच अन्तिम प्रतियोगिता कार्तिक २५ गते हुनेछ।
प्रतियोगिता भदाै ९ गतेदेखि कार्तिक २५गतेसम्म प्रत्येक शनिबार नेपाली समयअनुसार बेलुकी ६ बजे हुनेछ। अन्तिम प्रतियोगितामा पहिलो हुने टीमलाई १,००० अमेरिकी डलर, दोश्रो ८०० अमेरिकी डलर, तेश्रोलाई ६०० अमेरिकी डलर र सान्त्वनालाई ४०० अमेरिकी डलर पुरस्कार तथा हरेक चरणमा जित्ने टीमलाई ८० अमेरिकी डलर नगद पुरस्कार प्रदान गरिने डब्ल्यूएनओले जनाएको छ।
यस संस्करणमा ६ देखि १२ कक्षासम्मका नेपालसहित विभिन्न देशका विद्यार्थीहरूको २१ वटा टीमविच प्रतिस्पर्धा हुने र यसपाली टीमको नाम रोटीको नामबाट राखिएको डब्ल्यूएनओले जनाएको छ। दुई वर्ष अघि भएको पहिलो संस्करणको प्रतियोगितामा टीमहरूको नाम फूलको नामबाट नामाकरण गरिएको थियो।
प्रतियोगिताको नियमका लागि यहाँ क्लिक गर्न सकिन्छ।

