वरिष्ठ संगीतकर्मी गोविन्द ह्यूमतको एकल सांगीतिक कार्यक्रम ‘गोविन्द ह्यूमत सनिल– ११४३’ हुने भएको छ। कीर्तिपुर, पांगा स्थित कीर्तिपुर सिनेप्लेक्स हलमा भाद्र ११ गते सोमबार दिउँसो २.३० बजे कार्यक्रम हुने कार्यक्रम संयोजक विजय लाल डंगोलले बताउनु भयो। उहाँकाअनुसार टिकटको मूल्य पाँच सय रूपैयाँ राखिएको छ भने उक्त मूल्यमा दर्शकहरुको लागि समय्बजि (खाजा)को पनि व्यवस्था पनि गरिएको छ ।
वरिष्ठ संगीतकार गोविन्द ह्यूमत गीतकार तथा गायक पनि हुनुहुन्छ। उहाँले धेरै वर्ष पहिले नेपालभाषाको चलचित्र ‘न्हिलाः न्हिलाः हुँ, बांलाःम्ह मय्जु,’ का साथै धेरै चलचित्रहरुमा संगीत दिनुभएको थियो भने बलिउडया प्रख्यात कलाकारहरु अनुराधा पौडवाल, मोहम्मद अजिज, कुमार सानु लगायतको आवाज समावेश गरी नेपालभाषाको गीति एल्बम पनि निकाल्नु भएको थियो।
त्यस्तै, गोविन्द ह्यूमतले आफ्नै संगीत, लेखनमा ‘छिंमांया यःम्ह छ याकः म्ह्याय्’ गीत गाउनु भएको छ, जुन गीत नेपालभाषा संगीत क्षेत्रमा अति लोकप्रिय गीतको रुपमा आज सम्म पनि गुन्जिरहेको छ ।
त्यस्तै उहाँकै संगीतमा विजय मान सिंह र संगीता शाक्यको आवाज रहेको ‘दक्वसिबय् यःम्ह छ छम्ह दु’ गीत पनि आजसम्म नै उत्तिकै लोकप्रिय छ । यस्तै, उहाँको संगीत रहेको चर्चित गायिका जुनु श्रेष्ठले गाउनु भएका गीतहरू ‘जिगु नुगलय् घाः यानाः’, ‘मन जिगु उइँ जुल’ आदि गीत पनि लोकप्रिय छन् ।
उहाँको संगीतमा नेपालभाषाका धेरै गायकहरुले गीत गाउनु भएका छन् । अहिले स्वयं उहाँको एकल सांगीतिक साँझको आयोजना हुन लागेको हो । उक्त कार्यक्रममा सबैलै भाग लिएर उहाँलाई हौसला र टेवा दिनको लागि कार्यक्रमका संयोजक विजय लाल डंगोलले अनुरोध गर्नुभएको छ ।
