नेपालभाषा मंकाः खलःको भवन निर्माण सम्पन्न

काठमाण्डौ –  नेपालभाषा मंकाः खलःको भवन निर्माण सम्पन्न भएको छ। निर्माण सम्पन्न भएसँगै शनिबार विजेश्वरीमा भएको कार्यक्रममा काठमाण्डौं महानगरपालिकाया उपप्रमुख सुनिता डंगोल, नेपालभाषा मंकाः खलःका अध्यक्ष एवम् जनकवि दुर्गालाल श्रेष्ठ र वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोलले सामुहिक रुपमा उद्घाटन गर्नुभयो। उद्घाटन कार्यक्रममा उपप्रमुख डंगोल, नेपालभाषा मंकाः खलका संस्थापक सचिव मल्ल के. सुन्दर, १५ वडाका अध्यक्ष डंगोल, मंकाः खलःका प्रवक्ता रमेशमान पिया, सदस्यहरू प्रतापमान शाक्य, राजा शाक्य लगायतले मन्तव्य राख्नुभएको थियो।

चार दशक अघि स्थापना भएको  नेपालभाषा मंकाः खलःले वर्षेनी योमरि पूर्णिमाको दिन त्यःछिंत्यः आयोजना गरेर त्यसबाट संकलन भएको रकमबाट १ रोपनी जग्गा किनेको थियो भने उक्त जग्गासँगै रहेको १० आना जग्गा कविकेशरी चित्तधर हृदयले मंकाः खललाई दान दिनु भएको थियो।

यी दुवै जग्गा गरी मंकाः खलःसँग भएको १ रोपनी १० आना (८४२ वर्गमिटर) जग्गामा भवन निर्माण गरिएको हो। भवनको लागि काठमाडौं महानगरले आर्थिक अनुदान उपलब्ध गराएको थियो ।  महानगरका पूर्व प्रमुख विद्यासुन्दर शाक्यको पहलमा भवन निर्माणका लागि  ५ करोड रूपैयाँको बजेट विनियोजन गरिएको थियो।