अमेरिकाको वासिङ्गटन डिसीमा वर्ल्ड कल्चरल फ़ेस्टिभल आयोजना गरिने भएको छ। फेस्टिभल आउँदो सेप्टेम्बर २९, ३० र अक्टूबर १ गरि तीन दिन संचालन गरिने भएको छ।
कार्यक्रममा विश्वका १८० भन्दा धेरै देशका कलाकारहरुबाट सांस्कृतिक प्रदर्शन गरिनेछ भने नेपालको तर्फबाट १२० भन्दा धेरै कलाकारहरुले भाग लिदैछन्। उक्त कार्यक्रममा नेपाली समुहको कार्यक्रम अक्टोबर १ मा परेको छ।
नेपाली कलाकारहरुको समन्वय र सम्पूर्ण व्यवस्थापन नेपाल एजुकेशन एण्ड कल्चरल सेन्टर(एनईसिसि) ले गरेको छ। लेखिका तथा समाजसेवी निभा प्रधानको सक्रियतामा प्रमुख कार्यक्रम आयोजकसँग समन्वय गरेर नेपालको प्रस्तुती राख्न संभव भएको हो ।
नेपाली कला संस्कृति विश्वसामु प्रस्तुत गर्ने महत्वपूर्ण जिम्मेवारी अध्यक्ष सरोज प्रजापतिसहित एनईसिसि टोलीले लिएको छ। नेपाली कलाकारहरुले विभिन्न जनजाति समुह बनाएर सबैले एकैसाथ प्रदर्शन गर्ने भएका छन् । नेपाली समुहहरुले नेवार, शेर्पा, थारु, गुरुङ्ग, तामाङ्गका साथै अष्टमात्रिका, कुमारी र लाखेको प्रस्तुति देखाउनेछन् ।
नेपाली कलाकारहरुलाई प्रशिक्षण गर्ने ज़िम्मेवारी वरिष्ठ कलाकार तथा कोरियोग्राफ़र यज्ञमान शाक्यले लिनुभएको छ । यसको लागि गएको केहि महिनादेखि नियमित रुपमा प्रशिक्षण हुँदै आईरहेको छ । सयौंको संख्यामा रहेका नेपाली टोलीको चुनौतीपूर्ण प्रशिक्षणका साथै सबैलाई चाहिने पोशाक, गरगहना समेतको डिजाईन, निर्माण र व्यबस्थापनसमेत शाक्यले गर्नुभएको छ ।
कार्यक्रममा पाँच लाख भन्दा धेरै मानिसको सहभागिता हुने अनुमान गरिएको छ । कार्यक्रम निःशुल्क हुने तर सहभागी हुनको लागि रेजिस्ट्रेशन अनिवार्य गरिएको छ । रेजिस्ट्रेशन यस लिंकमा गएर गर्न सकिनेछ।






