भोटाहिटीमा राखिएको यःसिंलाई शनिबार नगर प्रवेश गराइने

काठमाडौं – इन्द्रजात्राको अवसरमा काठमाडौंको बसन्तपुरमा ठड्याउने इन्द्रध्वज यःसिंलाई शनिबार असोज ६ गते नगर प्रवेश गराइदैछ । हरेक वर्ष भाद्र शुक्ल अष्टमीका दिन यःसिंलाई नगर प्रवेश गराइने परम्परा छ । नगर प्रवेश भनेर यःसिंलाई भोटाहिटीबाट तानेर बसन्तपुर पुरयाइने प्रक्रियालाई भनिन्छ।

भक्तपुरको चित्तपोलमा रहेको जंगलबाट ल्याएर अहिले भोटाहिटीमा यःसिंलाई राखिएको छ । यःसिंलाई भोटाहिटी पुर्याएर चार दिनसम्म त्यहाँ राखिएपछि नगर प्रवेश गरिने गरिन्छ ।

इन्द्रध्वजको व्यवस्थापनको जिम्मा केन्द्रीय मानन्धर संघले गर्दछ। संघका अनुसार शनिबार विहान १० बजेर ३९ मिनेटको साइतमा विशेष पुजा गरेर यःसिंलाई नगर प्रवेश गराइनेछ । यसरी हनुमानढोका पुर्याएको चार दिन पछि आउँदो ९ गते बसन्तपुरमा विहान १० बजेर ३७ मीनेटको साइतमा यःसिंलाई ठड्याएर यसवर्षको इन्द्रजात्रा शुरु हुनेछ ।