इन्द्रजात्रा पर्वः कुमारीको रथ आज काठमाडौँको तल्लो भेगमा तानिने

काठमाडौँ वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाआराधना मनाइ्गने रुपमा इन्द्रजात्रा पर्वको तेश्रो दिन आज कुमारीको रथ तानेर मनाइँदैछ ।

आजको दिनलाई क्वनेयाः भनिन्छ भने आज जीवित देवी श्री कुमारीसहित श्री भैरव र श्री गणेशको रथलाई  काठमाडौँको तल्लो क्षेत्र अर्थात मरू जैसीदेगल, लगनमा तानिन्छ। 

आजको दिन मुख्यरूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ। 

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ।  भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । 

भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको यःसिंलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । यःसिंको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रकाे पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

यसअघि तान्त्रिक विधिद्वारा पूजा गरी भक्तपुरको चितपोल जङ्गलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ । त्यसपछि यःसिंलाई उपत्यका भित्र्याउन पनि साइत हेरिन्छ । उपत्यका भित्र्याएपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको यःसिं तयार पार्ने गरिन्छ । इन्द्रध्वजाको यःसिं ठड्याएको आठौँ दिनपछि  ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान छ ।

इन्द्रजात्राको अवसरमा आज उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन सोमबार स्नान गरेर मेला भर्न भक्तजनको घुइँचो लाग्छ ।

इन्द्रजात्राको अवसरमा आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा समेत दिइएको छ ।

आज रथ तानिने क्षेत्र