अग्रज पत्रकार मल्ल के सुन्दर सम्मानित

काठमाण्डौं – न्यूजनेपाः डटकमले अग्रज पत्रकार मल्ल के सुन्दरलाई सम्मान गरेको छ। न्यूजनेपाः डटकमको चिनारी दिनको लागि हिजो काठमाण्डौंमा आयोजित कार्यक्रममा बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले उहाँलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गर्नु भएको हो।

२०२३ सालमा पत्रकारीता शुरु गर्नु भएका राष्ट्रिय समाचार समितिका पूर्व प्रमुख एवमं इनाप वाःपौका सम्पादक तथा प्रकाशक मल्ललाई पत्रकारीताको क्षेत्रमा उहाँले पुर्याउनु भएको योगदानको कदर गर्दै न्यूजनेपाःले सम्मान गरेको हो। उहाँलाई प्रदान गरिएको सम्मानपत्र न्यूजनेपाः डटकमका नेपालभाषा सम्पादक पौभा सायमिले वाचन गर्नु भएको थियो।

कार्यक्रममा मन्त्री महर्जन तथा बागमती प्रदेशका सांसद हरिप्रभा खडगी श्रेष्ठले समुदायको हित हुने कुनै पनि कामका लागि आफूहरूको सहयोग हुने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो।

त्यस्तै कार्यक्रममा सम्मानित व्यक्तित्व मल्ल के सुन्दरले पत्रकारिता क्षेत्रको वर्तमान चुनौतिलाई मध्यनजर गरेर न्यूजनेपाः डटकम अघि बढ्नु पर्ने धारणा व्यक्त गर्नु भयो। वरिष्ठ पत्रकारद्वय पुष्कर भक्त माथेमा र सुरेश किरण मानन्धरले अहिले पत्रकारीता क्षेत्रमा नयाँ नयाँ खालका चुनौती देखा परेको भन्दै त्यसलाई चिर्दै जानु पर्नेमा जोड दिनु भयो।

त्यस्तै कार्यक्रममा न्यूजनेपाः डटकमका प्रवन्ध निर्देशक सिजन श्रेष्ठ, प्रकाशक विगेन तुलाधर र सम्पादक शर्मिला सिल्भिया राजोपाध्याय्, कानूनी सल्लाहकार राजन केसीले न्यूजपोर्टलका बारेमा जानकारी दिनु भएको थियो।

कार्यक्रममा लोककवि राजभाइ जकमीले कविता पाठ गर्नु भएको थियो भने कार्यक्रम न्यूजनेपाः डटकमका सम्पाददाता नीतु डंगोलले संचालन गर्नु भएको थियो।

कार्यक्रममा अग्रज व्यक्तित्व डा महेशमान श्रेष्ठ, गुथि संस्थानका प्रमुख प्रशासक किरण शाक्य, राष्ट्रिय भूमि आयोग काठमाण्डौंका प्रमुख श्यामकृष्ण  प्रजापति , संस्कृतिविद् डा चुन्दा बज्राचार्य, प्राध्यापक प्रेमशान्ति तुलाधर लगायतको सहभागिता थियो।

नेपाली,नेपालभाषा र अंग्रेजी भाषाको माध्यमबाट समाचार संप्रेषित गर्न संचालन भएको न्यूजनेपाःको अमेरिकाका लागि  प्रतिनिधि जयम्बु रंजित, डेनमार्कका लागि शशि श्रेष्ठ, जर्मनका लागि कुमार नापित, दुवइका लागि कुमार लामा र विरेन्द्र नकर्मी ,नेपालका लागि रमेश मुनिकार हुनुहुन्छ।   

यसै कार्यक्रममा  न्यूजनेपाः डटकमका प्रबन्ध निर्देशक सिजन श्रेष्ठले अमेेरिकाबाट ल्याउनुभएको सम्मानपत्र माष्टर अच्युतानन्द- श्रीलक्ष्मी मेमोरियल ट्रस्टका अध्यक्ष एवमं संयोजक सजनी राजोपाध्याय् लाई प्रदान गरिएको थियो। उहाँलाई मन्त्री पुकार महर्जनले सम्मानपत्र प्रदान गर्नुभएको थियो।