इजरायलमा समस्यामा परेका नेपालीलाई आज नेपाल ल्याइँदै

काठमाण्डाै – इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासले गरेको आक्रमणका कारण समस्यामा परेका नेपालीहरूलाई सरकारले आज स्वदेश ल्याउँदैछ। नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज लिएर परराष्ट्रमन्त्री नारायणप्रकाश साउद इजरायल जानु भएको छ। परराष्ट्रमन्त्रीसँगै मन्त्रालयका सहसचिव शरद आरण पनि इजरायल जानुभएको छ । बिहान ४ बजे नेपाल एअरलाइन्सको वाइडबडी जहाज दुबई हुँदै इजरायलको लागि त्रिभुवन विमानस्थलबाट उडेको छ ।

विद्यार्थीहरूलाई लिएर जहाज आज बेलुकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको छ । पहिलो चरणमा आज २ सय ५४ विद्यार्थी मात्र ल्याइने छ । असोज २० गते इजरायलको दक्षिण क्षेत्र किबुज अलुमिया भन्ने स्थानमा प्यालेस्टाइनी लडाकु समूह हमासको आक्रमणपछि तीन सयभन्दा बढी नेपाली त्यहाँ अलपत्र परेका छन् । आक्रमणका क्रममा १० नेपालीले ज्यान गुमाएका थिए । इजरायल सरकारले नेपाली विद्यार्थीको शव तत्काल हस्तान्तरण गर्ने अवस्था नदेखिएकाले केही समय कुर्नुपर्ने अवस्था देखिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।