काठमाण्डौ – आज कार्तिक शुक्ल पूर्णिमा, नेपाल संवतको पहिलो पूर्णिमा, नेवार समुदायले भुटेको नयाँ गेडागुडीबाट विभिन्न देवी देवता, मन्दिर र जात्राको कलात्मक आकृति बनाएर प्रदर्शन गरेर सकिमिला पुन्हि मनाएको छ ।
भुटेको गहुँ, भटमास, मकै, धानको लाभा, बदाम, केराउ, बकुला, सिम्पुलगायतका गेडागुडीले आकृति बनाउनेलाई हलिमलि ब्वयेगु भन्ने गरिन्छ । यसरी बनाइने आकृतिमा पिँडालु, सखरखण्ड, फलफूल र विभिन्न प्रकारका रोटीले सजाइन्छ ।
काठमाण्डाैंको असन, मरू, मंगलबजार, सुम्बहाल लगायतका क्षेत्रमा सकिमिला पुन्हिको अवसरमा विभिन्न भुटेका गेडागुडीबाट विभिन्न आकृति बनाएर प्रदर्शन गरिएको छ।

यस्तै आजका दिन नेवार समुदायको घरघरमा पिँडालु र सख्खरखण्ड उसिनेर खाने पनि चलन छ भने भजन खलः, दाफा भजन खलःहरूले भजन बनाएर विशेष पर्वका रूपमा पनि मनाउने गरिन्छ।
नेवार समुदायले ऋतुअनुसारको उब्जनी भएका अन्न पहिला आफ्नो इष्टदेवलाई चढाएर मात्र खाने प्रचलनअनुसार आजको दिन पिँडालु, सख्खरखण्ड, नसाःलगायतका भोजन प्रसादका रूपमा चढाएर खाने प्रचलन रहेको इतिहास तथा संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो । यसले शरीरमा ताकत दिनाका साथै शरीर स्वस्थ हुने जनविश्वास रहेको उहाँको कथन छ।

