काठमाण्डौ – दोश्रो पटक नेपालमा दुर्लभ ‘चतुरासीति सहस्स पुप्फ’ पूजा सम्पन्न भएको छ । विश्व सम्पदा स्वयम्भू महाचैत्यमा आज सोमबार बौद्ध परम्परा अनुसार ८४ हजार थान सयपत्री फूलको माला चढाएर पूजा गरिएको हो ।
सकिमिला पुन्हि, कात्तिक पूर्णिमाको अवसरमा स्वयम्भू महाचैत्य परिसरमा रहेका अन्य मन्दिर, गुम्बा, चैत्य, चीभाः र देवदेवीको मूर्तिमा ८४ हजार सयपत्री फूलको माला चढाइएको हो ।
भन्ते, गुरुमां, उपासक, उपासिकाहरूको समुपस्थितिमा शुरु भएको यस विशेष पूजामा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु धम्म शोभन महास्थविरले पञ्चशील प्रदान गर्दै ८४ हजार व्यञ्जन बुद्ध पूजा गर्नुभएको छ । यस अति दुर्लभ कार्यक्रममा ८४ हजार सयपत्री फूल पूजा कंकेश्वरी विष्णुमति स्थित नमूना बुद्ध विहारका सादर स्थविरले गर्नुभएको हो ।
विष्णुमति किनारमा कंकेश्वरी स्थित नमूना बुद्ध विहारको आयोजनामा भएको यस कार्यक्रम दोश्रो पटकको कार्यक्रम हो । यसभन्दा अघि गएको ने.सं. ११४३ (२०७९) सालको आजकै तिथिमा यस्तै पूजा गरिएको थियो ।
विश्व शान्तिको कामनासहित गरेको यस कार्यक्रममा भन्तेहरुबाट सामूहिक परित्राण पाठ तथा अन्तमा पुण्यानुमोदन गरिएको थियो । औपचारिक कार्यक्रमपश्चात उपासक उपासिकाबाट भन्ते, गुरुमांहरुलाई दान प्रदान गरेको थियो ।
नेपालीहरूले कहिले पनि देख्न नपाएको र सुन्न समेत नपाएको यस महत्वपूर्ण कार्यक्रम उपासक उपासिकाहरू समेत सहभागी भई हर्षोल्लास पूर्वक सम्पन्न भएको छ ।
तथागत भगवान बुद्धबाट ८४ हजार धम्मस्खन्ध देशना गर्नुभएका कारण ८४ हजार फूल वा फूलको मालासहित बुद्ध पूजा गर्ने परम्परा रहेको छ ।
