दधि लिला नाच देखाउँदै पाटनमा कार्तिक नाच सम्पन्न

ललितपुर – दधि लिला नाच देखाउँदै पाटनमा यस वर्षको कार्तिक नाच सम्पन्न भएको छ। गएको मंसिर २ गतेदेखि नियमित देखाइँदै आएको कार्तिक नाचको अन्तिम दिन आज कृष्णको कथामा आधारित हेर्न नहुने भनिएको दधि लिला प्रस्तुत गरिएको हो।

यो नाचमा कृष्ण, गोपिनीहरु र दही प्रसंग जोडिन्छ। गोपिनीहरु दही लिन गएको बेला नदी तर्नुपर्नेहुन्छ। त्यो बेला कृष्णले डुंगा चलाउँदै गरेका हुन्छन्। नदी तार्न गोपिनीहरुले कृष्णसँग सहयोग माग्छन्। सहयोगको बदलामा कृष्णले गोपिनीहरुसँग के दिने भनेर अड्को थाप्छन्।

गोपिनीहरुले फर्केर आउदाँ जे मागे पनि दिउँला भन्छन्। दही लिएर फर्केका गोपिनीहरुले फेरी नदी तार्न अनुरोध गर्छन्। कृष्णले दही नै माग्छन्। तर गोपिनीहरुले ल्याएको दही अरुकै लागि हुन्छ। त्यो थाहाभएपछि कृष्णले अरुका लागि भनेर ल्याएको दही म खान्न भन्दै फालिदिँदा, दहीको छिटा कृष्णलाई पर्छ।

दहीको छिटा कृष्णको खुट्टामा पर्ने भएकोले यसबाट अपशकुन हुने भन्दै यो नाच  हेर्न नहुने भनिएको कार्तिक नाच संरक्षण समितिका कार्यसमिति सदस्य तथा प्रचाप्रसार संयोजक संजय राजोपाध्यायले जानकारी दिए। यी सम्पुर्ण दृश्य, कलाकारहरुले नृत्य मार्फत प्रस्तुत गर्ने गर्छन् भने भावहरु कलाकारले संस्कृत र नेपाल भाषामा संवाद गर्ने गर्छन्।

यो नाचमा भाँडो फुटेर दहीको छिटा पर्न जाने भएकाले अपशकुन हुने र हेर्न नहुने भनिएपनि यस्ता नाचमा सन्देश हुने उनको ठम्याइ छ। हेर्न नहुने भनिए पनि बर्षेनी यो नाच हेर्न सयौंको संख्यामा दर्शकहरु कृष्ण मन्दिर छेउको कात्तिक डबलीमा भेला हुने गर्छन्। कार्तिक नाचमा देखाइने बस्त्रहरण र दधिलिला नाचलाई हेर्न नहुने नाच भन्ने गरिन्छ।

यो कार्तिक नाचको प्रमुख आकर्षण र महत्वपुर्ण नाच नृसिंह अबतार र बराह अबतार हुन। कार्तिक नाचको प्रमुख र बिशेष नृसिंह अबतारमा धार्मिकसंगै तान्त्रिक विधिले हिरण्य कश्यपु दैत्यलाई नृसिंहले  वध गर्ने नाच मध्यरातमा देखाइने नाच हो।

हिरण्यकश्यपु दैत्यलाई नृसिंहले वध गर्दा वास्तविकतामै वेहोश हुने हिरण्यकश्यपुलाई मंगहिटीको पानी ल्याएर ख्वाएपछि मात्रै होश आउने भएकोले यो नाच अलौकिक तथा दैवी शक्ति पनि रहेको नाचको रूपमा लिइन्छ।

मल्लकालिन राजा सिद्धिनरसिंह मल्लले हरेक वर्ष कार्तिक महिनामा नृसिंह नाचका रूपमा पाटन दरबारको पश्चिममा रहेको डबलीमा देखाउने गरेकाले यसलाई कात्तिक नाच भनिएको हो।  नेपालको इतिहासमा सबैभन्दा लामो समयदेखि निरन्तर रुपमा संचालन भएको यो नाच नेपाल सम्वत ७६१ मा राजा सिद्धिनरसिंह मल्लले शुरु गर्नु भएको हो । यस वर्ष यो नाच संचालन भएको ३८३ वर्ष लागेको छ ।

 

 

tagName: –
position: –
top: –
left: –
right: –
bottom: –
display: –
fontSize: –
fontWeight: –
textAlign: –
color: –
backgroundColor: –
overflow: –
boxSizing: –
transform: –
zIndex: –