महानगर दिवसको अवसरमा सन्दुक रुइतसहित विशिष्ट व्यक्तित्व सम्मानित

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले समाजमा विशिष्ट योगदान गरेका व्यक्तित्वहरूलाई सम्मान गरेको छ । २९ औँ महानगर दिवसको अवसरमा महानगरपालिकाले राजधानीको सैनिक मञ्चमा विशेष समारोह गरी वरिष्ठ नेत्र विशेषज्ञ सन्दुक रुइतदेखि कलाकार, खेलाडी, इन्जिनियर, साहित्यकार लगायतलाई पुरस्कृत गरेको हो ।

यसरी सम्मानित हुनेमा प्राध्यापक वरिष्ठ नेत्र विशेषज्ञ सन्दुक रुइत, नायिका मनीषा कोइराला, साहित्यकार दुर्गालाल श्रेष्ठ जनकवि, ओलम्पियन वैकुण्ठ मानन्धर, स्टक्चरल इन्जिनियर मनोहरलाल राजभण्डारी रहेका छन् । यसैगरी नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक मिरा चौधरी, पूर्व कप्तान फुटबलर बालगोपाल महर्जन, क्रिकेटका पूर्व कप्तान पारस खड्का, कराँते खेलाडी एरिका गुरुङ, बास्केट खेलाडी क्याप्टेन सविना श्रेष्ठ र कराँते प्रशिक्षक केदारेश्वरमान स्थापितलाई सम्मान गरेको छ । उनीहरूलाई जनही एक लाख ५० हजार रुपियाँबाट पुरस्कृत गरेको हो ।

समारोहका प्रमुख अतिथि तथा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्डले उहाँहरूलाई सम्मान पत्र प्रदान गर्नुभएको हो भने महानगरका मेयर बालेन शाहले दोसल्ला तथा उपप्रमुख सुनिता डंगोलले चेक हस्तान्तरण गर्नु भएको थियो।

२०५२ सालमा तत्कालीन काठमाडौँ नगरपालिकालाई महानगरपालिका घोषणा गरेको थियो । काठमाडौँ देशकै पहिलो महानगरपकालिकाको रुपमा स्थापित भएको अवसरमा प्रत्येक वर्ष मंसिर २९ मा महानगर दिवस मनाउँदै आएको छ ।