बाराको सिम्रौनगढमा तनाव : प्रहरीको गोलीबाट एक जनाको मृत्यु, १० जना प्रहरी घाइते

बाराको सिम्रौनगढ नगरपालिकामा प्रहरी र आन्दोलनरत कर्मचारीबीच झडप हुँदा प्रहरीको गोली लागेर १ जनाको मृत्यु भएको छ ।

झडपका क्रममा प्रहरीले सुरुमा अश्रुग्यास र हवाई फायर गरेको थियो। त्यसपछि पनि अवस्था नियन्त्रणमा आउन नसक्दा प्रहरीले गोली चलाउनु परेको जनाएको छ।

मृत्यु हुने स्थानीय सिम्रौनगढ-१ का २५ बर्षीय लक्ष्मी मुखिया बिन रहेका बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो । अर्का १ जना गम्भीर घाइते भएका छन् ।

मृतकको टाउकोमा गोली लागेको र घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले जनाएका छन ।

तर बुधबार अवस्था भड्किएको हो। नगरपालिकाका मेयर किशोरी साह कलवार र प्रमुख प्रशासकीय अधिकृत महेश मिश्र सवार गाडीमा तोडफोड भएको थियो। मेयरको गाडीमा प्रमुख प्रशासकीय अधिकृत मिश्र आएपछि आक्रोशित कर्मचारीहरूले ढुंगा हानेका थिए।

आक्रमणमा परेपछि मेयर साह कलावर र अधिकृत मिश्र ज्यान जोगाउँदै कार्यालयभित्र छिरेका थिए। उनीहरू भागेपछि प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडप भएको हो।

विवाद बढ्दै गएपछि स्थितिलाई नियन्त्रण लिन प्रहरीले हवाइ फायर गरेको थियो । प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेका थिए । प्रदर्शनकारीको आक्रमणबाट १० जना प्रहरी घाइते भएका बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिनुभयो ।